बैतडी समाचारदाता
बैतडी, माघ ३ गते । निर्वाचन (म्यादी) प्रहरीमा माग गरिएको भन्दा दुई सय कम आवेदन परेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा एक हजार ३७५ जना निर्वाचन प्रहरी माग गरिएकोमा माघ १ सम्म एक हजार २० जनाको मात्रै आवेदन परेको छ । मागभन्दा कम आवेदन परेकाले दुई दिन समय थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचन अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो । माघ १ सम्म आवेदन दिने अन्तिम मिति भए पनि मागभन्दा कम आवेदन परेकाले दुई दिन समय थप गरिएको उहाँले बताउनुभयो । माघ ३ सम्म आवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो ।
प्रदेशभर तेह्र हजार निर्वाचन प्रहरी
प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशभरि १३ हजार ६६९ निर्वाचन प्रहरी माग गरिएको छ । माघ १ सम्म १६ हजारभन्दा बढी आवेदन परेका छन् । प्रदेशका नौ जिल्लामध्ये बैतडीसहित अछाम, बझाङ, डडेलधुरा र डोटीमा माग गरिएभन्दा कम आवेदन परेका छन् । कम आवेदन परेका जिल्लामा दुई दिन म्याद थप गरिएको छ । त्यसै गरी कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुलामा मागभन्दा बढी आवेदन परेका छन् । कैलालीमा तीन हजार ५७६ निर्वाचन प्रहरी माग गरिएकोमा पाँच हजार १५१ आवेदन परेका छन् । कञ्चनपुरमा दुई हजार ३५ जना माग गरिएकोमा दुई हजार ९०६ जनाको आवेदन परेको छ । त्यसै गरी दार्चुलामा ८७४ जना माग गरिएकोमा एक हजार ५४१ जनाको आवेदन परेको छ ।
बाजुरामा आवेदक बढी
बाजुरा समाचारदाताका अनुसार बाजुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक हजार २०८ जनाले निर्वाचन प्रहरीका लागि दरखास्त दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले ९६४ र सशस्त्र प्रहरी कार्यालय बाजुराले ९६ जना गरी एक हजार ६० जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त
आह्वान गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाजुरामा महिला ४०५ र पुरुष ६८० जना गरी एक हजार ८५ जना र सशस्त्र प्रहरी बल बाजुरामा ९९ पुरुष र महिला २३ गरी १२३ जना गरी कुल एक हजार २०८ जनाको मात्र दरखास्त परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।