भक्तिविलास पोखरेल
गाईघाट, चैत २ गते । उदयपुरको कटरी नगरपालिका वडा ५ मा सोमबार साँझ आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेर उक्त घटना भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उहाँको नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी, कटारी नपा ३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही ठेगानाका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी नपा १२ बसेरीका १६ वर्षीया अस्मिता परियार रहेका छन् ।
घरभित्र थिचिएकी बालिका बिनिसाको करिब एक घण्टामा उद्धार भएको थियो ।
पसलसहितको घर रुखले किच्दा पसल र घरमा रहेका मानिसहरू घाइते भएका हुन् । घाइतेमध्ये घरधनी चौधरी उपचारका लागि कटारी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ दोङ्गले बताउनुभयो ।
घटनाको खबर लगत्तै इप्रका कटारीबाट प्रनाउ दोङसहित प्रहरी टोली खटिएर घाइतेहरूको उद्धार गरेका थिए । घटनामा सशस्त्र प्रहरीसमेत उद्धारमा खटिएको थियो ।
उदयपुरको कटारी क्षेत्रमा आज अस्वाभाविक रुपले वर्षातसँगै ठूलो हावा बतास आएर क्षति गरेको हो ।