मलेखु (धादिङ), चैत २ गते । पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ ।
विशेषगरी क्षमताभन्दा बढी र असुरक्षित तवरले सामान ढुवानी गर्ने अर्थात् ‘ओभर लोड’ बोकेका सवारीसाधनका कारण जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमनमा कडाइ गरेको हो ।
गजुरी क्षेत्रबाट मात्र दैनिक २० भन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन् । आज बिहान गजुरी गाउँपालिकास्थित घाटबेँसी नजिकै भएको सवारी जाँचमा नियमविपरीत ओभर लोड बोक्ने १५ भन्दा धेरै सवारी चालकलाई जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार सवारीको अवस्था ठिक नभएका, नम्बर प्लेट छोपिने गरी सामान लोड गरेका र असुरक्षित रूपमा सामान बोकेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याइएको हो ।
यातायात व्यवस्था ऐनअनुसार तोकिएको भन्दा बढी भार बोक्न वा सवारीको ‘बडी’भन्दा बाहिर सामान निकाल्न पाइँदैन । यस्तो कसुर गर्ने सवारीलाई ट्राफिक प्रहरीले घटनास्थलमै जरिवाना गर्न सक्ने प्रावधान छ । पटकपटक गल्ती दोहोर्याएमा चालकको अनुमतिपत्र नै निलम्बनसम्मको गर्न सकिने व्यवस्था छ । रासस