• २ चैत २०८२, सोमबार

मालपोत परिसरमा लेखापढी कार्यालय सञ्चालनमा रोक

blog

मालपोत कार्यालय सप्तरी । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), चैत २ गते ।
भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीले कार्यालय परिसरभित्र लेखापढी व्यवसायीले सञ्चालन गर्दै आएका कार्यालयमा आइतबारदेखि रोक लगाएको छ। कार्यालयले आइतबार एक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा संघ–संस्थाका कार्यालय बन्द गर्न आग्रह गरेको हो।

कार्यालय प्रमुख किशोरकुमार रामले जारी गर्नुभएको सूचनामा कार्यालय हाताभित्र रहेका लेखापढी व्यवसायका कार्यालय बन्द गर्न अनुरोध गरिएको उल्लेख छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त पत्र तथा निर्देशनअनुसार यस्तो निर्णय गरिएको सूचनामा जनाइएको छ। मन्त्रालयको परिपत्रअनुसार कार्यालयभित्र अनाधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा प्रशासनिक कामकाज व्यवस्थित बनाउन यस्तो निर्देशन दिइएको कार्यालयले जनाएको छ।

सूचनामा कार्यालय हाताभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसायका कार्यालय बन्द गरी उक्त स्थानमा मोठ तथा श्रेस्ता व्यवस्थापन गरिने उल्लेख गरिएको छ। “कार्यालयको मोठ फाँटमा प्रवेश गरी मोठ, श्रेस्ता तथा अन्य विवरणसमेत हेर्ने गरिएको पाइएकाले ती कार्यालय तत्काल बन्द गरी सहयोग गर्न अनुरोध गरिन्छ,” जारी सूचनामा भनिएको छ।