भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), चैत २ गते । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य दीपकराज बोहोराले सुशासन र समानता कायम गराउन विशेष भूमिका खेल्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य पदमा भारी मतका साथ विजयी हुनुभएका बोहोराले जनप्रतिनिधिले जफावदेहिता बढाउन आवश्यक रहेको बताउनुहुँदै सामाजिक न्याय प्रवर्धन गराउन पहल गर्ने बताउनुभयो ।
एसएलसीसम्म पढ्नु भएका उहाँले विकासका सवालमा भेदभाव भएको महसुस गर्नुभएको छ । मतदाता भेटघाटका क्रममा क्षेत्र–२ का सबै जसो क्षेत्रमा पुग्नुभएका उहाँले जनताको आवश्यकता अनुरूप विकासले गति लिन नसकेको आभास भएको बताउनुभयो । वेदकोट नगरपालिका–६ का बोहोराले सडक, पूर्वाधार विकासका क्षेत्रमा असमानता देखिएको बताउनुभयो । नागरिकसँगको प्रत्यक्ष संवाद, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउँदै यस क्षेत्रको विकास र जनअपेक्षा पूरा गर्ने प्रयासलाई सचिवालयले अझ व्यवस्थित बनाउने विश्वास लिइएकोसमेत उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेताका आफन्तको जमिन बचाउन तटबन्ध लगाएको पाइयो तर पूरै गाउँ बग्दासमेत तटबन्ध नलगाइँदा यहाँका स्थानीयले सास्ती बेहोर्नुपर्ने बाध्यता देखिन्छ ।”
विगतमा नेताका आसेपासेका काम गर्नका लागि राज्य शक्तिको दुरुपयोग गरिँदै आएकाले आगामी दिनमा स्थानीयले सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य गरिने नवनिर्वाचित सांसद बोहोराले बताउनुभयो ।
निर्वाचनका बखत क्षेत्र–२ का सबै जसो स्थानमा पुग्नुभएका रास्वपा नेता बोहोराले विगतमा खबरदारी नगर्दा नेताको घरवरिपरि मात्रै सडक कालोपत्रे गरिएको पाइएको बताउनुभयो ।
“नेताका घरवरिपरिका सडक मात्रै कालोपत्रे गरिँदा मुख्य सडकसमेत अलपत्र बनेको देखियो,” उहाँले भन्नुभयो, “विद्यार्थीलाई विद्यालय, नागरिकलाई पालिका जान, बिरामीलाई अस्पताल पुग्न समस्या देखिएकाले सबै क्षेत्रमा समान विकास गरिने छ ।”
यसका साथै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बोहोराले नेपालमा गठन गरिएका आयोगका काम सन्तोषजनक नदेखिएकाले आयोगका गतिविधिमाथि निगरानी गरिने बताउनुभयो । हाल मुख्य समस्याका रूपमा देखा परेको निकुञ्जपीडित, भूमिसम्बन्धीको समस्या समाधानलाई प्रमुख प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।
भूमिहीन समस्या समाधानका लागि विगतमा गठन भएका भूमि समस्या समाधान आयोगले हालसम्म गरेका कामको मूल्याङ्कन गर्दै भूमिहीनलाई यथाशीघ्र जमिनको मालिक बनाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
यसै गरी पार्टीको विधान अनुसार प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गरिने उहाँले बताउनुभयो । “सके छ महिनामा नत्र एक वर्षमा जनताका समस्या के के रहेछन्, के गर्न सकेँ, के गर्दै छु, त्यसको जवाफका लागि सार्वजनिक सुनुवाइ गर्ने छु ।” उहाँले भन्नुभयो । सुशासन, समानता कायम गर्नुका साथै जनमतको कदर गर्दै सार्वजनिक सुनुवाइलाई महत्वपूर्ण स्थान दिइने उहाँको भनाइ थियो ।
विसं २०४४ वैशाख ६ गते डडेलधुरामा जन्मनुभएका बोहोराले झन्डै दुई दशक पत्रकारिता क्षेत्रमा बिताउनुभएको हो । बोहोराले यसअघि पाँच वर्ष नेपाल वान टेलिभिजन, ११ वर्ष न्युज २४ टेलिभिजन, दुई वर्ष ग्यालेक्सी र तीन वर्ष नेपाल टेलिभिजनमा पत्रकारिता गर्नुभएको थियो । पत्रकारिताबाट प्राप्त अनुभवलाई समाजसेवा र राजनीतिक गतिविधिसँग जोड्दै उहाँ रास्वपा स्थापनासँगै राजनीतिमा प्रवेश गर्नुभएको थियो । रास्वपाबाट कञ्चनपुर क्षेत्र–२ मा उम्मेदवार बन्नुभएका बोहोरा ३३ हजार ९५२ भारी मतसहित फागुन २१ को निर्वाचनमा विजयी हुनुभएको हो ।