• २ चैत २०८२, सोमबार

बन्दै वीरेन्द्रनगरको ‘ग्रेटर घण्टाघर’

blog

रजनी योगी

सुर्खेत, चैत २ गते । कर्णाली प्रदेशका १० जिल्लाको सांस्कृतिक तथा पर्यटकीय स्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको छ । ‘ग्रेटर घण्टाघर’ योजना अन्तर्गत धमाधम संरचना निर्माण भइरहेका छन् । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर व्यवस्थित गर्न लागिएको हो । त्यसका लागि घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म विभिन्न संरचना निर्माण गर्ने जनाएको छ । 

वीरेन्द्रनगरको मुख्य क्षेत्र २०४५ सालमा निर्मित संरचनालाई पुनर्निर्माण गरेर ‘ग्रेटर घण्टाघर’ बनाउन लागिएको छ । ‘ग्रेटर घण्टाघर’ बनाउन व्यवस्थित पार्क, फोर लेन सडक, पार्टी र अन्य कार्यका लागि सभा हल, पारिवारिक रूपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । घण्टाघर पार्कभित्र पनि आकर्षक संरचना बनाइने नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । पश्चिमतर्फको खाली भागमा खुला पार्क बनाइएको छ । त्यसबाहेकका अन्य काम पनि धमाधम भइरहेको नगरपालिकाका इन्जिनियर रचिता शाहीले बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्खेतको पार्टी कार्यालयदेखि उत्तरपूर्वमा यसअघि नगरपालिकाले खाली गराएको क्षेत्रमा मण्डलासहितको पार्क निर्माण गर्न लागिएको छ । घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण र पर्यटकीय स्थल बनाउने उद्देश्यले प्राथमिकतामा राखेर अघि बढाएको योजना आर्थिक वर्ष २०७९/८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको थियो । दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम ४० लाख ४७ हजार ८१९ रुपियाँ लागतमा अघिल्लो वर्ष सकिएको थियो । नगरपालिकाले विभिन्न आवमा ‘ग्रेटर घण्टाघर’ बनाउन बजेट विनियोजन गर्ने गरेको छ ।

घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यानलगायतका संरचना निर्माण गर्न लागिएको छ । घण्टाघरदेखि पश्चिममा रहेको खुला स्थानमा हाल नगरपालिकाले खुला पार्क बनाइसकेको छ । सबै नागरिक सहज रूपमा प्रवेश गरेर बस्न मिल्ने बेन्च र खुला रूपमा सार्वजनिक कार्यक्रम गर्न मिल्ने गरी संरचना निर्माण गरेको छ । खुला पार्क निर्माणमा ९६ लाख बजेट खर्च भएको नगरपालिकाले जनाएको छ । खुला पार्कमा एउटै थलोमा देउडा, मनोरञ्जन कार्यक्रम, सम्मेलन, बहस र पैरवी गर्न सहज भएको छ । पार्कभित्र व्यापार क्षेत्र, घुमघाम क्षेत्र, बहुउद्देश्यीय हल निर्माण गर्ने लक्ष्य राखिएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । चालु आवमा पार्क निर्माणका लागि नगरपालिकाले एक करोड २६ लाख बजेट विनियोजन गरेको छ । आवश्यकताका आधारमा संरचना निर्माण गरेर पार्कलाई व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको छ । 

घण्टाघर खुला पार्कमा अहिले विभिन्न पार्टीका सभा सम्मेलन हुने गरेका छन् । पार्कलाई थप व्यवस्थित गरेर सुविधासम्पन्न बनाउने योजना नगरपालिकाको छ । नागरिकको रोजाइमा परेको घण्टाघरलाई नगरपालिकाले थप व्यवस्थित गर्न लागेको जनाएको छ । शौचालय, बगैँचा, गार्ड हाउस, टिकट काउन्टरसमेत निर्माण गरिरहेको छ । सबै व्यवस्थित गरेर शुल्क निर्धारण गरी पार्क सञ्चालन गरिने जनाइएको छ । 

नगरपालिकाले २०८२ असार १९ गते एसकेएस बिल्डर्स एन्ड अडर सप्लायर्स कालीकोटसँग ठेक्का सम्झौता गरेर पार्क निर्माणको काम थालिएको थियो । २०८२ माघ २८ गतेसम्ममा पार्क निर्माणको काम सक्ने गरी सम्झौता भएको थियो । अहिले म्याद थप गरेर पार्क निर्माणको काम धमाधम अघि बढाइएको इन्जिनियर शाहीले जानकारी दिनुभयो । ८९ लाख १३ हजारमा पार्क निर्माण गर्ने गरी नगरपालिकाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । अहिले २०८३ असारसम्म सक्ने गरी काम अघि बढाइएको छ । पार्क निर्माणको ६० प्रतिशत काम सकिएको छ ।