प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), चैत २ गते । मधेश प्रदेशभरमा नेपाली कांग्रेसबाट निर्वाचित एक मात्र प्रतिनिधि सभा सदस्य मो. फिरदोस आलमको चर्चा चुलिएको छ । उहाँको विजयले आलम परिवारको विरासत जोगिएको मात्र नभई मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्र गुमाएको नेपाली कांग्रेसको रौतहट क्षेत्र २ जोगाउन पनि सफल हुुनुभएको छ ।
मधेश प्रदेशबाट आलम एक मात्र नेपाली कांग्रेसको प्रतिनिधित्व गर्न सफल हुनुभएको छ । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित आलम जनताले आफूप्रति देखाएको विश्वास खेर जान नदिई दिन रात काम गर्ने दृढता व्यक्त गर्नुहुन्छ । उहाँ २९ हजार ५२८ मतसहित विजयी हुनुभएको हो ।
आफ्नो बुवा, बाजेको विरासत फर्काएको कारण पनि राजनीतिक वृत्त विशेष गरी रौतहटमा उहाँको चर्चा बढी हुन थालेको छ । उहाँको हजुरबुवा सेख इद्रिस २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसबाट रौतहट २ मा विजयी हुनुभएको थियो । २०५१ सालको निर्वाचनमा पुनः विजयी हुनुभएका सेख इद्रिसको २०५४ जेठमा निधन भएपछि भएको उपनिर्वाचनमा मो. आलमका बुवा मोहम्मद आफताव आलम विजयी हुनुभयो । त्यसपछि २०६४ को पहिलो संविधान सभा निर्वाचनमा पनि उहाँ विजयी हुनुभयो ।
२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा मोहम्मद आफताव आलम भान्जा मोहम्मद मुस्ताकबाट तीन हजार ४५ को मतान्तरले पराजित हुनुभयो । २०७४ सालको निर्वाचनमा फेरि मोहम्मद आफताव आलम विजयी हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा आलम परिवारको विरासत नै गुम्न पुग्यो । राजनीतिक परिवारमा हुर्केका आलम सरल र सहज युवा नेताका रूपमा चिनिनुहुन्छ । रौतहट २ मा विकास, बेथितिको अन्त्य गर्दै सुशासन कायम र जनभावना अनुसारको कार्य आफ्नो पहिलो प्राथमिकतामा रहने उहाँले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “म रौतहटका प्रत्येक नागरिकको प्रतिनिधित्व गर्ने र कहिल्यै कसैप्रति भेदभाव गर्ने छैन ।”
जेनजी आन्दोलनको जगमा भएको यो निर्वाचनको मुख्य मर्म अनुसार काम गर्न आफू सदैब तत्पर रहने उहाँको भनाइ छ । उहाँले युवाको भावना अनुरूप सुशासन काय राख्दै पारदर्शिता साथ जवाफदेही भएर काम गर्ने र यस क्षेत्रको अहिलेको अवस्थामा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले रौतहटवासीको मुख्य समस्याका रूपमा युवा बिदेसिएको, कृषिमा सिँचाइको समस्या, शिक्षा र स्वास्थ्य गुणस्तरीय हुन नसकिरहेकाले त्यसका लागि आफू गम्भीर भएर लाग्ने पनि बताउनुभयो । उहाँले हजुरबुवादेखि नै आफ्नो परिवार निरन्तर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेकाले स्थानीयवासीले मतमार्फत अपार माया दर्शाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले देखाएको यो माया र विश्वासलाई खेर जान दिने छैन ।”
सङ्घीय सांसद कुनै कार्यकारी पद नरहे पनि तिनै तहको सरकारबिच समन्वयकारी भूमिका निर्वाह गरेर कार्य गर्ने उहाँको योजना रहेको छ । कृषिमा आधुनिकीकरण गर्दै सिँचाइको व्यवस्था, समयमा मलखादको व्यवस्था तथा अनुदानको व्यवस्था गर्न पाए बिदेसिएका युवालाई स्वदेशमा कृषिमा समेत आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।