मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), चैत २ गते । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यून हुने भएकाले तीन महिनाका लागि स्थगित गरिएकोमा अनुकूल मौसमसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि उडान भर्न सुरु गरिएको हो ।
शनिबार समिट एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँबाट दुई र पोखराबाट एक उडान गरेको जोमसोम विमानस्थल प्रमुख दीपक पोख्रेलले बताउनुभयो । शनिबार काठमाडौँबाट २९ जना पर्यटक भित्रिएकोमा २८ जना विदेशी र एक जना नेपाली रहेका छन् । त्यसै गरी पोखराबाट १५ जना पर्यटकमा छ जना भारतीय रहेको समिट एयरलाइन्सका जोमसोम प्रमुख सुमन थकालीले बताउनुभयो । पर्यटकको मौसम सुरु भएकाले पोखरा र जोमसोमबाट हवाईमार्गबाट जाने पर्यटकको चाप भए पनि प्रतिकूल मौसममा बाहेक नियमित उडान हुने गरेको थकालीको भनाइ छ । हवाईमार्ग अवरुद्ध हुँदा पर्यटक तथा यात्रु बेनी–जोमसोम सडक हुदै मुस्ताङ जाने गरेका छन् । मुस्ताङमा निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एयरलाइन्सले उडान भर्दै आइरहेको छ ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले सडक र हवाईमार्गबाट भित्रिने पर्यटकले पर्यटन व्यवसायीसमेत उत्साहित हुने बताउनुभयो । मुस्ताङमा मनसुन र जाडो समयमा हवाई उडान प्रभावित हुने गरेको छ । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकूल जस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एयरलाइन्सले बढीमा पाँच/पाँच वटा मात्रै उडान भर्दै आएका छन् ।
मुस्ताङका धार्मिक स्थल मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक बोकेको हेलिकोप्टरमा अनिवार्य रूपमा एक सुरक्षा निकायका प्रतिनिधि हुने व्यवस्था छ । निजी कम्पनीबाहेक नेपाली सेनाले आफ्ना सामान ढुवानीसहित चार्टर उडानसमेत गर्ने गरेको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक सहज भएपछि हवाईयात्रुको चाप भने घटेको छ ।