• २ चैत २०८२, सोमबार

सुनवलमा तीन करोडको लागतमा सडक स्तरोन्नति कार्य सुरु

blog

सुनवलमा सडक । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत २ गते ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनवल चोकदेखि उत्तरतर्फ जाने सडक खण्डको स्तरोन्नति कार्य सुरु गरेको छ। चालु आर्थिक वर्षका लागि विनियोजित तीन करोड रुपियाँको लागतमा ५६४ मिटर लामो यस सडकलाई दुई लेन, नाली र फुटपाथसहित आधुनिक नमुना सडकको रूपमा निर्माण गर्ने योजना छ।

नगर प्रमुख बिमला अर्यालले सडक सहरको लाइफलाइन भएकाले यसमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो सडक हाम्रो नगरको गौरवको आयोजना हो। सडकको आयु लामो र गुणस्तरीय होस् भन्नेमा हामी सचेत छौं। निर्माण व्यवसायीले तोकिएको समयमै प्राविधिक मापदण्ड पूरा गर्नुपर्छ, नगरपालिकाले नियमित अनुगमन गर्नेछ।”

सडक विभागका प्राविधिकहरूसँगको समन्वयमा अघि बढाइएको निर्माणले स्थानीयवासीको आवागमनलाई सुरक्षित र सहज बनाउने साथै सुनवल बजारको सहरी सौन्दर्य बढाउने अपेक्षा गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्राविधिक टोलीलाई कामको गुणस्तरमा ‘जीरो टोलरेन्स’ अपनाउन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई कामको गति बढाउन र गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिएका छौं। नगरपालिकाबाट प्राविधिक सहयोग र समन्वयमा कुनै कमी हुन दिने छैनौं।”

सडक निर्माणको सुरुवातमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले निर्माणस्थलमै प्राविधिक टोली र निर्माण व्यवसायीलाई आवश्यक निर्देशन दिएका छन्।