धनगढी समाचारदाता
धनगढी, चैत २ गते । मुक्त कमैया परिवारका अमृत चौधरी सामान्य लगानीको व्यापारबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ ।
कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्त कमैया शिविरका उहाँले सडकछेउमा सामान्य चियानास्ताको व्यापार गरी मासिक डेढ/दुई लाख रुपियाँसम्म आम्दानी गर्न सफल हुनुभएको हो । चौधरीले विपतपुर मुक्त कमैया बस्तीनजिक हुलाकी राजमार्ग किनारमा खुला आकाशमुनि चियानास्ताको व्यापार गरिरहनुभएको छ ।
पछिल्लो समय हुलाकी राजमार्ग स्तरोन्नति भई मान्छेको आवतजावतमा वृद्धि भएपछि उहाँको पसलमा ग्राहक आउने गरेका छन् । “राजमार्ग भएर हिँडडुल गर्ने धेरै जसो व्यक्ति चियानास्ता खान रोकिने गरेका छन्,” उहाँले भन्नुभयो, “व्यापार ठिकठिकै चलिरहेको छ ।”
चौधरीले राजमार्ग किनारमा यो व्यापार चार हजार रुपियाँ लगानीमा सुरु गर्नुभएको थियो । चियानास्ताको दैनिक १० हजारभन्दा बढीको कारोबार हुने गरेको उहाँले उल्लेख गर्नुभयो । “कुनै दिन योभन्दा बढीको पनि कारोबार हुने गर्दछ,” उहाँले थप्नुभयो, “कारोबारको करिब आधा जति बचत भइरहेको छ ।”
मुक्त कमैया बस्तीका धेरै जसो मानिसका गुजाराको विकल्प मजदुरी रहेको छ । जीविकोपार्जनका लागि उनीहरू काम गर्न प्रायः भारत जाने गरेका छन् । थोरै लगानीमा भए पनि आफूले व्यापार थालेपछि मजदुरी गर्नु नपरेको चौधरीले बताउनुभयो । “आइडिया लगाएर काम ग¥यो भने यहीँ पनि कमाउन सकिन्छ,” उहाँले भन्नुभयो, “घरमा यत्तिकै बस्नुभन्दा मैले यो काम थालेँ । मजदुरी गर्न भारत जानु परेको छैन ।”
मुक्त कमैया महिला विकास मञ्च नामक संस्थाको सहयोगमा पूर्वकमैयाका परिवारलाई चियानास्तासम्बन्धी तालिम प्रदान गरिएको थियो । सो तालिम लिएकाले व्यापार गर्न सहज भएको छ । मनीषा चौधरीले भन्नुभयो, “जसरी आम्दानी हुँदै गयो, हामीले अरू सामान थप्दै गइरहेका छौँ । राम्रो भइरहेको छ ।”