गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २ गते । सङ्घीय संसद् सदस्यका लागि स्वकीय सचिवको योग्यता निर्धारणको प्रक्रिया तथा आवश्यक व्यवस्थापनको प्रक्रिया अघि बढाउन संसद् सचिवालयले सरकारलाई सिफारिस गरेको छ । सोमबारको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पदाधिकारी तथा सदस्यको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटमा उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको उल्लेख गरेको छ । जेनजी आन्दोलनपछि गठित अघिल्लो सरकारले संसद्का पदाधिकारी तथा सदस्यको स्वकीय सचिवको दरबन्दी कटौती गरेको थियो । पदाधिकारीले उपसचिव र सदस्यले शाखा अधिकृतसरहको स्वकीयको सुविधा पाउँदै आएका थिए ।