साजन परियार
पर्वत, चैत ३ गते । पर्वतको कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारीस्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार आगालागी भएको छ ।
स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक करोड बराबरको क्षति भएको हो । सुरुमा ग्याँस लिक भएको र तत्कालै पड्किदा ठुलो क्षति भएको हो । आगलागीवाट डेरी उद्योगमा रहेको चिलिङभ्याट मेसिन, ६ वटा फ्रिजहरु, प्याकेजीङ मेशिन, फर्निचर, दुध बोक्ने क्यान, दाना, चोकर, लत्ता कपडा, मोवाईल सहित ठुलो मात्रामा खाद्यान्न र पुरै घरमा समेत क्षति पुगेको छ ।
यसैगरी नगद एक लाख रुपैया जलेर नष्ट भएको छ भने डेरी संचालन गरेको घरमा झण्डै २५ लाख बराबरको क्षति पुगेको डेरी संचालक रामसागर लामिछानेले जानकारी दिनुभयो । यसैगरी सोहि घरमा डेरा गरी बस्ने यामनाथ सुवेदीको विभिन्न किसीमका सामग्री गरी पाँच लाख रुपियाँको क्षति भएको छ ।
स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली र शसस्त्र प्रहरीको टोली समेत दमकल सहित घटना स्थलमा पुगेको थियो । नयाँ ग्याँस जोडेर दुध बसाल्ने वित्तिकै लिक भएको र तत्कालै आगालागी भएको संचालक लामिछानेले जानकारी दिनुभयो ।
उक्त डेरी उद्योग स्थानीय पाटेश्वरी कृषि सहकारीद्धारा स्थापना गरी लामिछानेले सञ्चालन गर्दै आउनुभएको थियो । डेरीसँगै युवा व्यावसायी लामिछानेले किराना पसल समेत सञ्चालन गर्नुभएको थियो । दुई वटा ग्याँस पड्किएका छन् भने ११ वटा भरी सिलिण्डरमा क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त ग्याँस शिवशक्ति कम्पनीको रहेको छ ।
प्रारम्भिक चरणमा हेर्दा ग्याँस पड्किएरै आगजनी भएको र झण्डै एक करोडको क्षति पुगेको पार्ईएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भने जारी रहेको प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो ।
लामिछानेले विगत पाँच वर्षदेखि डेरी उद्योग सञ्चालन गरी कटुवाचौपारी, पिपलटारी, शंकरपोखरी लगायतका क्षेत्रवाट दुध संकलन गरी विभिन्न क्षेत्रमा विक्रिवितरण गर्दै आएका थिए । स्वरोगार सञ्चालन गरेको बसेको भएपनि आगालागीले पूर्ण रुपमा क्षति पुगेपछि उनको परिवार विक्षिप्त बनेको छ ।