• ३ माघ २०८२, शनिबार

गजल

blog

सत्ता शक्तिमा हुँदा जो कोही महान् हुन्छ 

भाग्यमा भए बगरको पत्थर भगवान् हुन्छ


यो दुनियाँ अग्लाको हो धुर्त मालिकको हो

म बाँचेको समाज बुझ्दा यस्तै भान हुन्छ


देश रित्तियो युवा बेचिए युरो, डलर, भारुमा

मिडियामा यस्ता समाचारको तानातान हुन्छ 


फूल मुस्कुराउँछन् घरी घरी आफ्नै सुगन्धले

जब फूलबारीमा थरी थरी पुतलीको बथान हुन्छ


ऊ मान्छे हो कति नै टाढिएर हिँड्न सक्ला 

डोजर लगाएपछि भिर पनि त मैदान हुन्छ 


म हारेको हुँदै होइन जित्न नसकेको मात्र हो

जून पनि यहाँ पूर्णिमाको रातमा जवान हुन्छ 


बाँचुन्जेल न हुन् कसैका महल कसैका टहरा 

मरेपछि सबैको प्रिय घर त उही चिहान हुन्छ ।