कपिल ज्ञवालीसिद्धार्थनगर, मङ्सिर १७ गते। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्यमा गुल्मी १ बाट निवार्चित डा. चन्द्र भण्डारीले सरकारमा को जाने भन्दा पनि कस्तो विचार बोकेर जाने भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।‘‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो विचार बोकेर सरकार बनाउने भन्नेमा हाम्रो जोड रहेको छ’’, उहाँले भन्नुभयो, ‘उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्छ।’उहाँले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बन्ने भए व्यक्तिको चर्चा हुने भए पनि सांसदले चुन्ने भएकाले विचार ठूलो भएको प्रष्ट पार्नुभयो। ‘‘प्रत्यक्ष निवार्चन भएको भए पो व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो। अब जितेका सांसदले प्रधानमन्त्री बनाउने हो। त्यसैले अहिले नै को प्रधानमन्त्री भनेर भन्नु हुँदैन। व्यक्ति भन्दा र योजना ठूलो कुरा हो’’, उहाँले भन्नुभयो। उहाँले पार्टी सभापति र सत्ता गठबन्धनका नेतासँगको छलफलपछि मात्र प्रधानमन्त्रीको टुंगो लाग्नेसमेत प्रष्ट पार्नुभयो। नेता भण्डारीले भन्नुभयो, ‘‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन। यो विषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्डजी, माधवजीसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो।’’ नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओलीसँग पनि परामर्श हुने उहाँको भनाइ छ।
स्याङ्जा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङले ५ हजार ९७५ मतले अग्रता लिई रहनुभएको छ । अब गणना गर्न चापाकोट नगरपालिकाको वडा नं. ८, ९ र १० मात्र बाँकी छ । गणना गर्न बाँकी रहेको मत ४ हजार ८७१ रहेको छ ।
दोलखामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा समानुपातिकतर्फ भने नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त मत परिणामअनुसार प्रतनिधि सभा समानुपातिकतर्फ १७ हजार ३६८ मत गणना हुँदा एमालेले ६ हजार २८६ मत प्राप्त गरेको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ बस्ने हंसराज लिम्बुका छोरा नवीनकुमार नाल्बोलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेको नाल्बोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला राख्ने निर्णय गरेको छ । आज शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने विकल्प पनि खुला राख्ने निर्णय गरेको हो ।
घोराही उपमहानगरपालिका ९ का अध्यक्षले तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफूले प्राप्त गरेको तलबबाट विद्यार्थीलाई जाडो मौसम सुरु भएपछि स्विटर वितरण गर्नुभएको हो ।
राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय सल्लेरीले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ टाक्सिन्दुमा एक सय जना बृद्धबृद्धालाई गाउँमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो ।
विगत १६ वर्षदेखि गुल्मीमा अपाङ्गताको क्षेत्रमा काम गर्दैआएको आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । शनिबार ३१ औँ अपाङ्ग दिवसको अवसरमा जिल्लाको इस्मा गाउँपालिका –६ अमरपुरमा जन्मिएका कुलचन्द्र गौतमले आशा अपाङ्ग केन्द्रलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।
महिला समूहको कुटपिटका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ की उषा राईको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जना पक्राउ परेका छन् ।
बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाउनुभएको छ ।
साबिक विजेता लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ५८ रनले हरायो । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ ।
पाँचथरका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङले आफूलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सबै मतदाताहरूप्रति आभार प्रकट गर्नुभएको छ ।
जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभासद् विजेता मिनकृष्ण महर्जनलाई शनिबार बधाई र सफल कार्यकालको शुभकामना दिएको छ ।
प्रयोगविहीन बन्दै आएको काठमाडौं महानगरपालिका वडा नम्बर २८ को खुलामञ्चमा तीन तहको पार्किङ निर्माण हुने भएको छ। काठमाडौं महानगरले यसलाई तीन तहको भूमिगत पार्किङ ‘ट्रिपल बेसमेन्ट’ भनेको छ।