• १२ असोज २०८१, शनिबार

मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध : अध्यक्ष सीके राउत

blog

पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर १७ गते । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नु भयो ।


अध्यक्ष राउतले भन्नुभयो, ‘‘हाम्रो मनस्थिति डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ । त्यही भएर म तपाईँहरूसँग आग्रह गर्न चाहन्छु–तपाईँहरू जहिले पनि हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । सहयोग गर्न तयार रहनुस् । हामी तपाईँलाई सहयोग गर्न राति पनि आउन सक्छौँ, दिउँसो पनि आउन सक्छौँ । जतिबेला पनि आउन सक्छौँ ।’’

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्नुहुँदै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बनाएको जानकारी दिनुभयो ।


अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन् बढी सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष राउतले भन्नुभयो, ‘‘कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशा जान्छ । जनता निराशामा जान्छन् । त्यही भएर जनताले हामीलाई अन्तिम आशाको रूपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ ।’’


अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि पटकपटक दोहोर्‍याउनु भयो । त्यस अवसरमा उहाँले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।