• १२ असोज २०८१, शनिबार

गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

blog

सन्तोष राउत

सोलुखुम्बु, मङ्सिर १७ गते । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय सल्लेरीले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ टाक्सिन्दुमा एक सय जना बृद्धबृद्धालाई गाउँमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो ।

बैङ्कले वडा कार्यालयको समन्वयमा एक दिने सामाजिक सुरक्षा भत्ता वितरण तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । ग्राहकको ग्राहक पहिचान फारम भर्ने, नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम पनि गरेको बैङ्कका शाखा प्रबन्धक चित्रबहादुर खड्काले जानकारी दिनुभयो । 

त्यस अवसरमा वित्तीय सम्बन्धी साक्षरता समेत प्रदान गरिएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा सदरमुकाम आउन टाढा रहेकाले ज्येष्ठ नागरिकलाई सहज सेवा प्रदान गर्न गाउँमै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

यस अघिसम्म दिनभरि लगाएर सकीनसकी सदरमुकाम सल्लेरी पुगेर भत्ताको रकम ल्याउने गरेकोमा गाउँमै भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । भत्ता बुझ्नका लागि एक दिनको दूरीमा सदरमुकामसम्म यात्रा गर्न नपरेको ८६ वर्षीय लाक्पा शेर्पाले खुसी व्यक्त गर्नुभयो ।