• २५ जेठ २०८२, आइतबार

७० वर्षे उमेर हद असफल भइसक्यो : प्रधानमन्त्री ओली

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा ७० वर्षे उमेर हद असफल भइसकेको बताउनुभएको छ ।

आइतबार त्रिभुवन विश्वविद्यालयमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले अहिलेको नेतृत्वले अगाडि बढीरहेका विद्यार्थी, युवा पुस्तालाई सही गन्तव्य देखाएर अघि बढाउनसक्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भोलि आफूलाई लिडरको रुपमा एउटा वैचारिक नेताको रुपमा, कुशल संगठक नेताको रुपमा, आन्दोलनको म्याग्नेटको रुपमा तयारी गर्नुस् । महत्वकांक्षा होइन, आफ्नो ज्ञान, क्षमता, सीप त्यसरी तयारी गर्नुस् भन्ने आग्रह छ ।” उहाँले आन्दोलनको इतिहासका कारण नेकपा (एमाले) ले आफूलाई अध्यक्ष बनाएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “आफैंले हेर्दा २३ सालबाट म युवा, विद्यार्थीमा संगठित हुँदै गर्दाखेरी उमेर पनि कलिलै थियो । त्यस बेलादेखिको ६० वर्षको यात्रा म सम्झिन्छु । ६० वर्षको यात्रा सधैं दृढताका साथ, सक्रियता, इमानका साथ अगाडि बढेकै हुनाले आज नेकपा (एमाले) ले मलाई किन अध्यक्ष बनायो भन्दा अनुहार हेरेर माया लागेर होइन । यो आन्दोलनको इतिहासको कारणले हो । म एकदम कुनाको गाउँमा जन्मिएको मान्छे । क्याम्पस छोडेर आन्दोलनमा होमिएको मान्छे ।”

उहाँले एमालेभित्र भ्रम फैलाउने तत्व सक्रिय रहेको भन्नुहुँदै त्यस्ता भ्रममा अलमलिन नहुने बताउनुभयो । उहाँले पार्टी नेतृत्वमा ७० वर्षे उमेर हद लागू गर्ने विषय असफल भइसकेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “७० वर्ष उमेर हद फेल खाइसक्यो । अहिले म ७४ मा चल्दैछु । ७० मा रिटायर्ड हुन चार वर्ष घटाउन भएन । त्यसकारण, उमेरले होइन । स्वास्थ्यले साथ दिन्छ, दिँदैन । कार्यक्षमता हुन्छ या हुँदैन यी कुराहरु मुख्य हो ।”

उहाँले चीनको कम्युनिष्ट पार्टीमा नेतृत्वको निरन्तर आवश्यकता देखेपछि ६५ वर्षे उमेर हद हटाइएको चर्चा गर्नुभयो । 

उहाँले भन्नुभयो, “चीनमा दुई पटक मात्रै अध्यक्ष हुन पाउने भन्ने बनाएको थियो । महासचिव दुईपल्ट, राष्ट्रपति हुइपल्ट हुन पाउने नियम बनाएको थियो । सिचिनपिङको नेतृत्वको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ७० वर्ष पनि हुँदैन, ६५ पनि नहुने बनाइयो । साइप्रसको कम्युनिष्ट पार्टी, अरु विभिन्न पार्टीले उमेर हद तोकेका थिए, छोडे । मै हुन्छु भन्ने छैन । तर, कुरा के हो भने जडसुत्रको रुपमा कुनै कुरा समाउने होइन ।”


प्रधानमन्त्री ओलीले १३ महिनापछि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पने बताउनुभएको छ । सम्झौता अनुरुप नेतृत्व सुम्पिएपछि सरकारमा सामेल रहने उहाँको भनाइ छ । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशलाई अगाडि बढाउने अभिभारा हाम्रो काँधमा आएको छ । सुशासन, विकासका लागि हामीले के कस्ता नीति र प्रयासहरु गर्नुपर्दछ ? आज हामी त्यस ठाउँमा छौं । पार्टीले जनताको जनवादको आजको रुप सरकारमा भएर सिङ्गै देशलाई नेतृत्व गर्नुपर्ने, त्यसको कार्यान्वयन गर्न आज हामी सरकारको नेतृत्व गरिरहेका छौं । कुनै–कुनै समय नेतृत्वमा हुँदैनौं । अब १३ महिनापछि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौं । यसकारण कि, हामीले सम्झौता गरेका छौं नेपाली कांग्रेससँग । र १३ महिनापछि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौं र हामी सरकारमा सामेल रहन्छौं ।”

उहाँले नेकपा (एमाले) को मिसन ८४ को उद्देश्य अन्यौलको विषय नभएको बताउनुभयो । हाल एमाले राष्ट्रिय शक्तिको रुपमा रहेको र आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य मिसन ८४ कुनै अमूर्त, अन्यौलको कुरा होइन । मिसन ८४ भनेको नेकपा (एमाले) जस्तो राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने । हाम्रा विरोधीले, प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल, खेल्न खोज्छन् यहाँभित्र । नेपाली कांग्रेसले पनि भन्छ, बहुमत ल्याउँछौं, हामीले पनि भनेका छौं । कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला तर, बहुमत ल्याउने दाबी त्यो अनेकले गर्छ ।”

उहाँले आजको बद्लिदो परिस्थतीमा नयाँ पिँढीले प्रविधिलाई सजिलोसँग पढ्न र बुझन् पाएको भन्नुहुँदै यो पुस्ताले विकासको गतिलाई प्रविधिको माधयमबाट अगाडि बढाउनसक्ने बताउनुभयो । 


उहाँले भन्नुभयो, “नयाँ शक्ति एउटा उदाउँदैछ अनेरास्ववियुको माध्यमबाट । नयाँ प्राविधिक, चेतना, नवोदित विद्यार्थी क्षेत्रमा अनेरास्ववियुले काम गरिरहेको छ। वास्तवमा, कहिले कुनै कारणवश अलिकति तलमाथि पर्नु बेग्लै हो । म भन्छु- इतिहासमा अनेरास्ववियु नेपालका विद्यार्थी संगठनमध्ये सबभन्दा प्रमुख, सबभन्दा बलियो, सचेत, जुझारु र सफल संगठन हो । देशभक्तिको मामिलामा होस् अथवा राष्ट्रियताको सवालमा होस् कि । जीविकाको सवालमा होस्, अधिकारको सवालमा होस् कि, कर्तव्यसहितको अधिकार कार्यान्वयनको सन्दर्भमा होस्, अनेरास्ववियु नेतृत्वदायी संस्थाको रुपमा रही आएको छ ।”

उहाँले अनेरास्ववियुको नेतृत्व चयन सहमतिको माध्यमबाट गर्न सुझाव दिनुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।