• २६ जेठ २०८२, सोमबार

आगलागीका ५८१ घटना : दस करोडभन्दा बढीको क्षति

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ २६ गते ।
गुल्मीमा आगलागीका घटनाहरु वर्षेनि बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्ष र चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको तथ्याङ्क अनुसार यस जिल्लामा आगलागीका घटनाहरु बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार यस अवधिमा ५८१ आगलागीका घटना हुँदा दस करोडभन्दा बढीको क्षति भएको छ ।

आगलागीका कारण मानवीय, पशुचौपाया, घरगोठ, सरकारी कार्यालय, सवारीसाधन लगायतका अन्य विभिन्न सामग्री सरकारी तथा निजि सम्पत्तिमा क्षति भएको हो । आगलागीका कारण मानिस १६ जना मृत्यु, ३८ जना घाइते, पशुचौपाया २६३ मृत्यु, ९४ घाइते, घर १३२, गोठ १९६, सरकारी कार्यालय तीन, सवारीसाधन आठ र अन्य १७१ मा क्षति हुँदा कुल दस करोड ४८ लाख ६७ हजार ४०० रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा ६९ वटा आगलागीका घटना हुँदा ७६ लाख ७६ हजार रुपियाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ । मानिस तीन जना मृत्यु, दुई जना घाइते, पशुचौपाया २० मृत्यु, सात घाइते, घर १८, गोठ नौ, सरकारी कार्यालय एक र अन्य १५ मा क्षति भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा आगलागीका १२६ घटना हुँदा एक करोड ९५ लाख ७६ हजार २०० रुपियाँ बराबरको क्षति भएको छ । मानिस छ जनाको मृत्यु, छ जना घाइते, पशुचौपाया २१ मृत्यु, २० घाइते, घर १९, गोठ ३७ र अन्य आठमा क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ मा २८४ वटा आगलागीका घटना हुँदा छ करोड ४१ लाख ५६ हजार ५०० रुपियाँ बराबरको क्षति भएको छ । मानिस पाँच जना मृत्यु, २३ जना घाइते, पशुचौपाया १७५ मृत्यु, ५० घाइते, घर ८१, गोठ १११, सरकारी कार्यालय दुई, सवारीसाधन तीन र अन्य ११४ मा क्षति भएको बताइएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म १०२ वटा आगलागीका घटना हुँदा एक करोड ३४ लाख ५९ हजार रुपियाँ बराबरको क्षति भएको छ । मानिस दुई जना मृत्यु, सात जना घाइते, पशुचौपाया ४७ मृत्यु, १७ घाइते, घर १४, गोठ ३९, सवारीसाधन पाँच, अन्य ३४ मा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।