• १२ असोज २०८१, शनिबार

अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १७ गते । विगत १६ वर्षदेखि गुल्मीमा अपाङ्गताको क्षेत्रमा काम गर्दैआएको आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । शनिबार ३१ औँ अपाङ्ग दिवसको अवसरमा जिल्लाको इस्मा गाउँपालिका –६ अमरपुरमा जन्मिएका कुलचन्द्र गौतमले आशा अपाङ्ग केन्द्रलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । 

उहाँले केही समय पहिले नेपाली पात्रको निजी अनुभवलाई समेटिएको पुस्तक ‘कुलचन्द्र गौतम : आत्मकथा’ सार्वजनिक गर्नुभएको थियो । गौतमले सोही पुस्तक बिक्रीबाट सङ्कलन भएको रकम आशा अपाङ्ग केन्द्रलाई उपलब्ध गराउनुभएको हो । 

पुस्तक बिक्रीबाट सङ्कलन भएको नगद पाँच लाख रुपियाँ गौतमका भाइ रामचन्द्र गौतमले रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीमार्फत अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे र व्यवस्थापक गङ्गा रायमाझीलाई हस्तान्तरण गर्नुभएको छ । गौतमले यसअघि पुस्तक बिक्रीबाट आउने रकम अपाङ्गताको क्षेत्रमा काम गर्दैआएको केन्द्रलाई प्रदान गर्ने घोषणा गर्नुभएको थियो । 

आफूले केन्द्रको अवलोकनको क्रममा संस्थाको कर्म देखेर प्रभावित भएपछि ग्रामीण क्षेत्रमा सञ्चालित बालमैत्री कार्यक्रमलाई सघाउन आफूले पुस्तक बिक्री गरेको रकम सहयोग गरेको सहयोगी कुलचन्द्र गौतमले बताउनुभयो । आशा अपाङ्ग केन्द्रले अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक तथा आर्थिक सबलीकरणका लागि सहयोग गर्दैआएको संस्थाका अध्यक्ष जनार्दन घिमिरेले बताउनुभयो । 

गौतमले देशभित्रबाट थालेको सङ्घर्षले अमेरिकी विश्वविद्यालय हुँदै संयुक्त राष्ट्रसङ्घको सहायक महासचिवदेखि युनिसेफका उपकार्यकारी निर्देशकसम्म पुर्‍याएको  छ । चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतम : आत्मकथा’  पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको थियो ।