• १२ असोज २०८१, शनिबार

सरकार गठनको सबै विकल्प खुला : माओवादी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १७ गते ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्प खुला राख्ने निर्णय गरेको छ । शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि नेकपा (एमाले) सहितका दलसँग छलफल गरेर अघि बढ्न सकिने विकल्प पनि खुला राख्ने निर्णय गरेको हो । 

सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । बैठकमा नेताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको समीक्षा गर्नुभएको महराले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पार्टी उपाध्यक्ष महराले भन्नुभयो, ‘निर्वाचनको प्रारम्भिक समीक्षा भयो । अपेक्षा गरिएअनुसार हामीले सङ्घमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । चुनावको सबै परिणाम आएपछि त्यसमा गम्भीर समीक्षा हुन्छ ।’ 

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलसँगको विकल्पलाई पनि खुला राख्ने नीति लिएको बताइएको छ । उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोचमा पार्टी नरहेको भए पनि अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको बताउनुभयो । अर्को पदाधिकारी बैठकमा त्यस विषयमा थप छलफल गर्ने निर्णय माओवादीले गरेको छ । समग्र विषयमा समीक्षा गर्न अर्को बैठक बोलाइएको महासचिव देवप्रसाद गुरुङले बताउनुभयो ।