पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार १८ गते । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले गोदाममा लामो समयदेखि थन्किएको करिब ६२ हजार किलो चिनी नष्ट गरेको छ । यस चिनीको अनुमानित मूल्य ४० लाख रुपियाँ रहेको बताइएको छ ।
महेशपुर भन्सार प्रमुख विकास उपाध्यायका अनुसार लामो समयसम्म गोदाममा राखिएकाले उक्त चिनीको म्याद गुज्रिएको र खानयोग्य नरहेको पाइएको हो । अखाद्य घोषित भएपछि उक्त चिनीलाई नजिकैको रमपुरवास्थित झरही खोलामा लगेर नष्ट गरिएको छ ।
यो चिनी आर्थिक वर्ष २०७८–७९ मा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको थियो र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको थियो । भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नभएको बताएपछि लिलामी प्रक्रिया अगाडि नबढाइएको जानकारी दिनुभयो ।