• १७ असार २०८२, मङ्गलबार

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

blog

पेरिस, असार १७ गते । विश्वका सांस्कृतिक र प्राकृतिक सम्पदा स्थलमध्ये झन्डै तीन चौथाइ कम वा बढी पानीका कारण खतरामा रहेको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सीले मङ्गलबार बताएको छ ।

बढ्दो तापक्रमका कारण आँधीबेहरी, खडेरी, बाढी र तातो लहरलगायत चरम मौसमका घटनाहरू बारम्बार र तीव्र भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । युनेस्को हेरिटेज सूचीमा रहेका सबै एक हजार एक सय ७२ गैर–समुद्री स्थलमध्ये ७३ प्रतिशत कम्तीमा एउटा पानीको तनाव, खडेरी, नदीको बाढी वा तटीय बाढीसहित गम्भीर पानीको जोखिममा रहेको युनेस्कोले बताएको छ ।

“विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिका, दक्षिण एसिया र उत्तरी चीन जस्ता क्षेत्रहरूमा पानीको तनाव तीव्र हुने अनुमान गरिएको छ, जसले इकोसिस्टम, सांस्कृतिक सम्पदा र तिनीहरूमाथि निर्भर समुदाय र पर्यटन अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम खडा गरेको छ”, युनेस्कोले भन्यो । सांस्कृतिक स्थलहरू प्रायः पानीको अभावबाट खतरामा परेका थिए भने आधाभन्दा बढी प्राकृतिक स्थलहरूले नजिकैको नदीबाट बाढीको जोखिमको सामना गर्नु परेको युनेस्कोको अध्ययनले देखाएको छ ।

“उदाहरणका लागि भारतमा आगराको ताजमहल स्मारकले पानीको अभावको सामना गरिरहेको छ जसले प्रदूषण बढाइरहेको छ र भूजल घटाउँदैछ, यी दुवैले समाधिमा क्षति पुर्‍याइरहेका छन्”, अध्ययनले भन्यो । युनेस्कोका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा ठुलो बाढीले सबै येलोस्टोन राष्ट्रिय निकुञ्ज बन्द गरिदियो र पुनः खोल्न पूर्वाधार मर्मतका लागि दुई करोड डलरभन्दा बढी खर्च भयो । प्रतिवेदनले थप चार वटा उदाहरण दिएको छ ।

“इराकका दक्षिणी दलदलहरूले-बाइबलीय इडेन गार्डनको प्रतिष्ठित घर-अत्यधिक उच्च पानीको तनावको सामना गर्छन्, जहाँ मानवीय मागपूर्ति गर्न नवीकरणीय आपूर्तिको ८० प्रतिशतभन्दा बढी निकासी गरिन्छ”, अध्ययनमा भनिएको छ । यो क्षेत्र आगामी वर्षहरूमा तातो हुँदै जाँदा प्रवासी चराहरू बस्ने र बासिन्दाहरूले भैँसी पाल्ने दलदलहरूमा पानीको प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ । 

स्कटल्यान्डका अन्वेषक डेभिड लिभिङस्टोनले पुनः नामकरण गर्नुअघि मूल रूपमा मोसी-ओआ-तुन्या (‘गर्जने धुवाँ’) भनिने जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको भिक्टोरिया फल्सले बारम्बार खडेरीको सामना गरेको छ र कहिलेकाहीँ कम हुँदै गएको छ । पेरुमा पूर्व-कोलम्बियाली सहर चान चान र यसको नाजुक एक हजार वर्ष पुरानो एडोब पर्खालहरूले नदीको बाढीको अत्यन्त उच्च जोखिमको सामना गरिरहेको युनेस्कोले बताएको छ । चीनमा जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले तटीय बाढी निम्त्याइरहेको छ । बाढीले प्रवासी पानीका चराहरूले खाना पाउने माटोको भूमि नष्ट गर्दछ । रासस/एएफपी