जानु पाण्डे
कपिलवस्तु, असार १७ गते । धेरैलाई लाग्छ ‘खेल्ने काम त समय फाल्ने हो ।’ तर कपिलवस्तुका रौनक श्रीबास्तवले बाल्यकालमा खेलमै जीवन देखे, सपना देखे, र त्यही सपना पछ्याउँदै इतिहास बनाइदिए ।
एसीसी यु–१६ इस्ट जोन कप अन्तर्गत मङ्गलबार भएको भुटानबिरुद्धको खेलमा रौनकले सतक प्रहार गर्नुभएको छ । उहाँले १३२ बलमा ५ ओटा छक्का र १६ ओटा चौका प्रहार गर्दै विस्फोटक १६८ रन बनाउनुभयो ।
रौनकले टिवि शाह मेमोरियल कप यु–१६ अन्तर्गत एकै खेलमा २१७ रन बनाएपछि उहाँको चर्चा चुलिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पछि अन्डर १६ को राष्ट्रिय टिममा समावेश हुनुभएको थियो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका १ मडाहका उहाँ ४ वर्ष अगाडी देखी क्रिकेट खेल्न सुरु गर्नुभएको थियो । अहिले १५ वर्ष पुग्नु भएको छ । अति विपन्न श्रमिक परिवार भएको कारणले उहाँसँग बल र ब्याट किन्ने रकम समेत थिएन ।
तरपनि साथी भाइ र आफन्तको सहयोगले उहाँ खेलप्रति प्रेरित हुनुभएको थियो । उहाँ तौलिहवाको बुद्ध पद्म माविमा कक्षा ८ मा अध्ययनरत हुनु हुन्थ्यो । क्रिकेट सिक्नको लागी पढाई त्याग गरी भारतको नौगढमा रहेको क्रिकेट एकेडेमीमा पुग्नुभएको थियो ।
साथीहरू पुस्तक समाउँथे, म ब्याट । समाजले भन्थ्यो, पढ्न छाड्यो भने बिग्रन्छ । तर म आफूलाई बनाउने सङ्घर्षमा थिएँ । क्रिकेटप्रति लगावको कारण आफु सफल भएको रौनकले बताउनुहुन्छ ।
कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरेले रौनकको कलात्मक व्याटिङ शैलीको कारणले आउने दिनमा स्टार क्रिकेटर बन्ने खुवी भएको बताउनुहुन्छ ।