• १७ असार २०८२, मङ्गलबार

ओलम्पिक विवाद : सरकार र एनओसीद्वारा एसियाडका लागि छुट्टा छुट्टै खेल दर्ता

blog

काठमाडौँ, असार १७ गते । युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक किमिटी (एनओसी) ले जापानमा आगामी वर्ष  आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागिताका लागि छुट्टाछुट्टै खेल दर्ता गरेको दाबी गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मङ्गलबार विज्ञप्ती जारी गर्दै जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीलाई सरकारले अवैध घोषणा गरेको अवस्थामा सरकार आफैले एसियाडका लागि ३१ खेल दर्ता गरेको उल्लेख गरेको छ ।


यस्तै जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीले पनि मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी ३० खेल आधिकारिक रूपमा एसियाडका लागि दर्ता गरेको दाबी गरेको छ । 

मन्त्रालयले विज्ञप्तीमा एसियाडको विषयप्रति युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तेजुलाल चौधरीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल सरकारले अवैध घोषणा गरेर त्यसका गतिविधिप्रति रोक लगाइसकेको अवस्थामा एनओसीको  लेटरप्याड र छाप दुरुपयोग गरिनु कुनै वैधानिकता छैन । त्यसलाइए मन्त्रालय र राखेपले मान्यता दिने छैन ।’’

मन्त्रालयले एसियाडका लागि खेलको सूची दर्ता सम्बन्धित निकायमा असार १६ गते नियमानुसार पठाइसकेको पनि उल्लेख गरेको छ । 

यता एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पत्रकार सम्मेलनमा एसियाड लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको दर्ता र सहभागिताको प्रक्रिया एनओसीले मात्र गर्न सक्ने दाबी गर्नुभयो ।


श्रेष्ठले  एनओसी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) को चाटर्डअनुसार चल्ने भएकोले सरकारले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले सोही अनुसार एनओसीले ३० खेललाई एसियाड सहभागिताका लागि दर्ता गरेको पनि उल्लेख गर्नुभयो । हाल एनओसीलाई आइओसी र एसियन ओलम्पिक काउन्सिल (ओसिए) ले मान्यता दिएको छ । 

मन्त्रालयले दर्ता गरेका खेलहरू

एथलेटिक्स, बक्सिङ, क्रिकेट, तेक्वान्दो, कबड्डी, कराते, ई–स्पोर्ट्स, उसु, जिम्न्यास्टिक, पौडी, जुडो, टेबलटेनिस, भलिबल, साइक्लिङ, इक्वेस्ट्रिन, फुटबल, फेन्सिङ, गल्फ, सुटिङ, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हक्की, सफ्ट टेनिस, ह्यान्डबल, स्क्वास, रग्वी र रोविङ । 

एनओसीले दर्ता गरेका खेलहरू 

एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिन एन्ड डान्स स्पोर्ट्स, बेसबल तथा साफ्टबल, र्‍याफ्टिङ तथा क्यानोइ, कुराश, क्रिकेट, साइकलिङ, ई–स्पोर्ट्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, वेटलिफ्टिङ, रेस्लिङ र उसु ।