फडिन्द्र अधिकारी
लेखनाथ, असार १७ गते। कास्कीको मादी गाउँपालिकाले गाउँसभामा नीति तथा कार्यक्रम पेस गरेको एक सातापछि बजेट ल्याएको छ । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्नेमा असार ९ गते अध्यक्ष देवीजङ्ग गुरुङले नीति तथा कार्यक्रम पेस गरेपछि गाउँसभा स्थगित भएको थियो ।
मङ्गलबार गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले आगामी आर्थिक वर्षका लागि गरी ६० करोड ५० लाख २० हजारको बजेट पेस गर्नुभयो । चालु वर्ष मादीको बजेट ७१ करोड ३८ लाख रहेकोमा अहिलेसम्म पालिकाको सञ्चित कोषमा ४६ करोड ९७ लाख ४१ हजारमात्र जम्मा भएको देखिन्छ । यस वर्ष मादीको बजेट ११ करोड घटेको छ ।
उपाध्यक्ष गुरुङले पेस गर्नुभएको बजेटमा सामाजिक विकासतर्फ २८ करोड ४० लाख विनियोजन भएको छ । पूर्वाधार विकासका लागि १५ करोड ५० लाख बजेट विनियोजन भएको छ । गाउँपालिका र वडाका भवनका लागि दुई करोड बजेट राखिएको छ।
महालेखाले बारम्बार वितरणमुखी र अनुत्पादक क्षेत्रमा खर्च नगर्न औंल्याए पनि पालिकाले संस्कृति संरक्षण र मेला, पर्वका लागि ३० लाख बजेट राखेको छ।आगामी वर्ष वित्तीय समानीकरण अनुदान १० करोड २२ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ११ करोड ३९ लाख, सशर्ततर्फ २५ करोड ५९ लाख, समपूरकतर्फ दुई करोड ४७ लाख र विशेषतर्फ ७२ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेशबाट वित्तीय समानीकरण एक करोड १२ लाख, राजस्व बाँडफाँट एक करोड १५ लाख, विशेष अनुदान ४० लाख र समपूरक अनुदान ६० लाख हुने बजेटमा उल्लेख छ । मादीले आगामी वर्ष आन्तरिक स्रोतबाट चार करोड ७२ लाख ५८ हजार उठाउने लक्ष्य लिएको छ । बजेटमा गाईभैंसी पकेट क्षेत्रका लागि २५ लाख, स्थानीय उत्पादन बजारीकरणका लागि २० लाख ५० हजार, रोजगार आयोजना सञ्चालनका लागि २५ लाख ७२ हजार बजेट छ ।
मादीमा विपद् व्यवस्थापनका लागि ३० लाख बजेट छ । उपाध्यक्ष गुरुङले पालिकाले यसअघि ल्याएका घाटा बजेटका दायित्व तिर्ने र पालिकाका आधारभूत आवश्यकता पूरा गर्ने गरी बजेट ल्याइएको बताउनुभयो ।
आगामी वर्षको बजेट आन्तरिक आय बढाउनमा केन्द्रित रहे पनि केही कठिनाइ रहेको उहाँको भनाइ छ । उपाध्यक्ष गुरुङले भन्नुभयो, “पालिकाको आन्तरिक स्रोत परिचालन गरी पालिकाभित्र रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) सँग दोहोर अधिकारको चेपुवामा परी आन्तरिक आम्दानी प्रभावकारी बनाउन नसकेको अवस्था छ ।”
गाउँसभाले मङ्गलबार साँझ नै बजेट पारित गरेको छ । अध्यक्ष देवीजङ्ग गुरुङले पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधारमा जोड दिई समन्यायिक रूपमा समृद्धि मादी बनाउनले लक्ष्य लिइएको उल्लेख गर्नुभयो । मादीले आलु आर्थिक वर्षमा अहिलेसम्म ५४ प्रतिशतमात्र खर्च गरेको छ ।
मादीको बजेट पारित भए पनि पालिकाको केन्द्र यकिन गर्ने लगायतका विषयमा जनप्रतिनिधिबिच भएको विवाद यथावत छ । मादीमा कांग्रेसबाट देवीजङ्ग गुरुङ अध्यक्ष र एमालेबाट कल्पना गुरुङ उपाध्यक्ष हुनुहुन्छ । गाउँसभामा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सदस्यबिच विवाद हुँदा बजेट प्रस्तुत हुन सकेको थिएन। गाउँपालिकाको केन्द्रबारे यहाँ पहिलेदेखि नै विवाद छ ।
नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर ४, तारकाङमा पालिका केन्द्र बनाउने पक्षमा छन् भने नेपाली कांग्रेसका जनप्रतिनिधिहरू वडा नम्बर ५ भैसेमा हुनुपर्ने अडानमा छन् । अहिले मादीको पालिका केन्द्र वडा नम्बर ३ को याङ्जाकोटमा छ।