काठमाडौँ, असार १८ गते । नेकपा एमाले सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ । समितिको बुधवारको बैठकमा बोल्दै उहाँले समिति सभापति र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गर्नुभएको हो ।
कुलिङ पिरियडबारे भएको चलखेलमा अबका दिनदेखि समिति सभापति र समिति सचिवको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने उहाँले बताउनु भयो । उहाँले समितिले निर्णय गरेर पठाएको कुरालाई जालझेल गर्ने अधिकार समिति सभापति र सचिवलाई नरहेको बताउनु भयो ।
जनताबाट चुनिएका प्रतिनिधिहरूको अपमान गर्ने अधिकार कसैलाई नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो बैठकमा हाम्रो सभापतिज्यूले त्यो चियरमा बस्न सुहाउँछ की सुहाउँदैन ? किनभने यो समिति सार्वभौम थियो । यो समितिले यत्रो निर्णय गरेको कुरालाई जालझेल गरेर, सदस्यहरुलाई अपमान गरियो । लोक के भन्छ आज रु गम्भीर प्रश्न उठेको छ । यो प्रश्न उठेको बेलामा हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार कसले दियो तपाईँलाई ? म सभापतिज्यूलाई भन्न चाहन्छु, तपाईँले छोडिदिनुपर्छ ।
तपाईँले सक्नुभएन । यत्रो सदस्यले गरेको निर्णय तपाईँले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएको यत्रो प्रतिनिधिहरूको अपमान गर्ने अधिकार तपाईँलाई हुँदैन ।’ सांसद राई सहज किसिमले समितिको बैठक अघि बढाउने वातावरण सभापतिले बनाइदिनुपर्ने बताउनु भयो ।