जनार्जन खत्री
सर्लाही, असार १९ गते । तरकारीमा नगरपालिकाले निकासी कर लगाएको विरोधमा सर्लाहीको लालबन्दीमा किसानले चक्काजाम गरेका छन् । बिहीबार बिहानदेखि पूर्वपश्चिम राजमार्गमा किसानले चक्काजाम गरेका हुन् ।
ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । सोही निर्णय बमोजिम बिहीबार बिहान किसानले थोक बजारमा बिक्री गर्न ल्याएको तरकारी व्यापारीले खरिद गरेनन् ।
नगरपालिकाले लगाएको करको विरोधमा व्यापारीले तरकारी खरिद नगरेपछि किसानले लालबन्दी–७ स्थित तरकारी बजार अगाडि पूर्वपश्चिम राजमार्गमै तरकारी राखेर चक्काजाम गरिरहेका हुन् । व्यापारीले तरकारी खरिद नगरेपछि टाढाटाढाबाट तरकारी बिक्री गर्न आएका किसान अलपत्र परेका छन् ।
संघका अध्यक्ष दरेश चौधरीले नगरपालिकाले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बताउनुभएको छ । तरकारीमा लगाइएको निकासी करका विषयमा नगरपालिकासँग समन्वय गरी चक्काजाम खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।