सन्तोष दहित
दाङ, असार १८ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले उक्त बजेट पारित गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गर्नुभयो ।
पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपियाँ (कुल बजेटको ३०.८८ प्रतिशत) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपियाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ ।