• १८ असार २०८२, बुधबार

लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम

blog

लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिममा सहभागीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, असार १८ गते ।
लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । ‘लैङ्गिक संवेदनशीलता : जिम्मेवार पत्रकारिताको मूल आधार’ भन्ने मूल नारासहित सञ्चालित उक्त तालिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन म्याग्दीको आयोजना एवम् नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा सञ्चालन गरिएको थियो ।

लैङ्गिकमैत्री पत्रकारिता गर्न, पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न, लैङ्गिक संवेदनशीलता कायम गर्न र पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मिलन म्याग्दीका अध्यक्ष दिलमायाँ बिटालुले बताउनुभयो । दुई दिनसम्म चलेको तालिममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा र संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

तालिममा पत्रकार आचारसंहिता, लैङ्गिक निर्देशिका, समाचारको भाषा, आधारभूत पत्रकारिता, लैङ्गिक संवेदनशीलता र रिपोर्टिङ, लोकतन्त्र, समावेशी, सञ्चार नीति, लैङ्गिक समानताका विषयमा सहजीकरण गरिएको थियो । त्यस्तै मिडियामा महिला पत्रकारको अवस्था, लैङ्गिक समानता र पत्रकारिता, पूर्वाग्राहीमैत्री समाचार सम्प्रेषण, लैङ्गिक विभेदको विश्लेषण, मिडियामा लैङ्गिक सशक्तिकरण, अवसरमा लैङ्गिक विभेदको विरोध गर्ने नीतिगत व्यवस्थाका बारेमा पनि तालिममा जानकारी गराइएको थियो । शारिरीक तथा मानसिक सुरक्षा र चुनौती, आधारभूत पत्रकारितालगायत विषयहरु दुई दिने पत्रकारिता तालिमका समयमा सहजीकरण गरिएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पत्रकार तथा सञ्चारकर्मीहरुले समाजमा सकारात्मक सन्देश फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिताले लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि, पारदर्शिता, विकास निर्माणसहित समग्र पक्षको वकालत हुने गरी जिम्मेवार तरिकाले पत्रकारिता गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता वृद्धि गर्नका लागि विभिन्न संघ, संस्थाहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरी तालिम तथा गोष्ठीलगायत आयोजना गरिएको जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले पत्रकार तथा सञ्चारमाध्यमले लैङ्गिक संवेदनशील क्षेत्रहरु पहिचान गरेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जिल्लामा भइरहेका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता विकास गर्नुका साथै नयाँ पत्रकार उत्पादन गर्नका लागि मन्त्रालयसँगको सहकार्यमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।