• १८ असार २०८२, बुधबार

‘लेखकले राजनीतिलाई सचेत गराउनु पर्छ’

blog

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ब्यानर वाचन गरेर मधुसूदन पाण्डेयद्वारा लिखित एक सय चार पुस्तकको लोकार्पण गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लेखक मधुसूदन पाण्डेयको एक सय चार वटा कृतिको ब्यानर वाचन गरेर लोकार्पण गर्नुभएको छ । नेपाल नागरिक आवाजद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. कोइरालाले लेखक पाण्डेयको विसं २०५७ देखि विसं २०८२ सम्म लेखिएका पुस्तकको लोकार्पण गर्नुभएको हो । 

नेता डा. कोइरालाले नेपाली भाषामा इतिहास, साहित्यका विविध विधा, अनुवादलगायत विषयमा यति धेरै सङ्ख्यामा पुस्तक लेखेर पाण्डेयले नेपाली साहित्य क्षेत्रमा ठुलो योगदान पुर्‍याउनुभएको बताउनुभयो  । उहाँले लेखक पाण्डेयका पुस्तकहरू महात्मा गान्धी र बिपी कोइरालाबाट बढी प्रभावित देखिने बताउनुहुँदै भन्नुभयो, “बिपीको समाजवादलाई गाउँ गाउँमा पुर्‍याउन र हालको नेपाली राजनीति, सांस्कृतिक, धार्मिक अवस्थालाई चित्रण गर्दै आगामी दिनमा लेखकबाट अन्य कृतिको अपेक्षा गरेको छु ।” 

नेता डा. कोइरालाले कुलिङ पिरियडसम्बन्धी प्रसङ्ग कोट्याउँदै संसदीय समितिबाट पास भएको विधेयक संसद्मा पुग्दा बदमासी भएर थपघट गर्ने प्रवृत्तिले राजनीतिक बेइमानीले हद नाघेको बताउनुभयो । उहाँले लेखकहरूले आफ्ना पुस्तक, लेख रचनाबाट राजनीतिलाई विधिको शासनमा रहन सचेत गराइरहनुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले लेखक पाण्डेयले ४१ वर्षको उमेरदेखि सुरु गरेको लेखन यात्रा हालसम्म १०४ वटा पुस्तकमा आएकोमा उहाँको मेहनतको प्रशंसा गर्नुभयो । उहाँले यी पुस्तकले नेपाली साहित्य भण्डार भर्न निक्कै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले लेखक पाण्डेयको मौलिक कृतिबारे समीक्षा गर्दै उहाँले उपन्यास, कथा, यात्रा साहित्य, इतिहास, नेपालका राष्ट्रिय विभूतिलगायतका कृतिले नेपाली समसामयिक जीवनका बारेमा जान्ने बुझ्ने अवसर दिएको बताउनुभयो । 

त्यसै गरी ज्ञानु अधिकारीले विभिन्न भाषामा लेखिएका प्रेरणादायी भनाइलाई नेपालीमा अनुवाद गरेर लेखकले आफूलाई प्रेरक व्यक्तित्वका रूपमा प्रमाणित गरेको बताउनुभयो । लेखक पाण्डेयले पत्रकारिता, लेखन तथा प्राध्यापनसँगै विभिन्न विषयमा एक हजार पाँच सय वटा लेख/रचना र मौलिक, अनुदित तथा सम्पादित गरी हालसम्म एक सय चार वटा पुस्तक प्रकाशित गर्नुभएको छ । उहाँको गान्धी हत्या किन ?, नेपालको इतिहास केही अपुष्ट पक्षहरू, बेलायती राजवंशको प्रेम प्रसङ्ग र डायना, नेपालमा सत्ता सङ्घर्ष, बुद्ध दर्शनको इतिहास, गान्धीको आत्मकथा, यौन मनोविज्ञान, हिन्दुस्तानको कथा, मेक्सिम गोर्कीका उत्कृष्ट कथा, शेक्सपियरका कथालगायतका पुस्तक प्रकाशित छन् ।