गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १८ गते । सानैदेखि नृत्य र गायनमा रुचि राख्ने कैलाली टीकापुरकी देउडा गायिका लक्ष्मी आचार्यलाई भविष्यमा साङ्गीतिक क्षेत्रमै रम्ने रहर थियो । देउडा संस्कृतिको खानी सुदूरपश्चिममा हुर्किनुभएकी उहाँले त्यस भेगका धेरै अग्रजलाई चर्चा कमाएको देख्नुभएको थियो । त्यसै बेलादेखि उहाँमा सुदूरपश्चिम प्रदेशलाई सांस्कृतिक रूपमा राष्ट्रिय/ अन्तर्राष्ट्रिय रूपमा ख्याति दिलाउने भित्री चाहना उर्लेर आएको थियो ।
सङ्गीतलाई जीवनको मूल लक्ष्य बनाउने उद्देश्यसहित उहाँ विसं २०६६ मा काठमाडौँ आएलगत्तै साङ्गीतिक वातावरणमा रमाउन थाल्नुभयो । यसै क्रममा २०६८ सालमा रामजी खाँडसँग पहिलो गीत गाउनुभयो । ‘नजिक नजिक सर्छन्’ बोलको युगल गीतले राम्रो सफलता पाएपछि उहाँको करियरले उचाइ लिन सुरु गर्यो । त्यसपछि क्रमशः लाइहाल कालो टीका, भन साली, ओ मेरी भाउजू, जोई, जाराकी मन पराउँछ्यौ, माइती देशलगायत गीत रेकर्ड गराउनुभयो । यी गीतमा कुनै न कुनै रूपमा सुदूरपश्चिमका भाका बोलेका छन् । देउडा बोलेका छन् । त्यहाँको स्थानीय संस्कृति र स्थानीय सुगन्ध मगमगाएको छ, उहाँ भन्नुहुन्छ, “मैले पाएको ठुलो पुरस्कार भनेको दर्शकको माया हो ।”
साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानबापत उहाँले सुदूरपश्चिम कलाकार सम्मान, कलाकर्मी सम्मानलगायत थुप्रै मानसम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । कैलालीको गाउँमा रमाउँदाको परिवेश आज बदलिए पनि सङ्गीतको मूलबाटो बदलिएको छैन, उहाँ थप्नुहुन्छ, “देउडा सङ्गीतले मलाई देशको सीमा छिचोलेर विदेशी भूमिमा पुर्याएको छ ।” आफू जहाँ गए पनि देउडासँगै लिएर जाने बताउँदै उहाँले भन्नुभयो, “आधुनिक गीतमा जति रमाए पनि अन्त्यमा एक पटक लोकगीत र त्यसमा पनि देउडा सुनेर आनन्दित हुने जमात यहाँ ठुलो छ । देउडा सबैको मनको गीत भएको छ ।”