सउल, असार १८ गते । दक्षिण कोरियामा अनलाइन माध्यमबाट गरिने किनमेलमा करिब ०.९ प्रतिशतको वृद्धि देखिएको छ । यो वृद्धिको मुख्य कारण खाद्य सामग्री तथा खाना डेलिभरी सेवाप्रतिको उच्च माग रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय कोरियाले जनाएको छ ।
प्राप्त तथ्याङ्कअनुसार, चालु वर्षको सोही अवधिमा अनलाइन कारोबारको कुल परिमाण २२.४९ ट्रिलियन वोन (अन्दाजी १६.६ अर्ब अमेरिकी डलर) पुगेको हो ।
खाद्य तथा पेय पदार्थको अनलाइन कारोबार ५.६ प्रतिशतले बढेको छ, भने कृषिजन्य, पशुपन्छीजन्य तथा माछाजन्य उत्पादनहरूको माग ९.४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
खाना डेलिभरी सेवा, मोबाइल उपकरण साथै संस्कृति तथा मनोरञ्जन सेवातर्फ अनलाइन माग उल्लेखनीय रूपमा दोहोरो अङ्कमा वृद्धि भएको छ । यसका अतिरिक्त, लुगा, सौन्दर्य सामग्री तथा दैनिक उपभोग्य वस्तुहरूको माग पनि सिंगल अङ्कमा भए तापनि सकारात्मक रुपमा बढेको उल्लेख गरिएको छ ।
त्यसैगरी, जुत्ता, फर्निचर, घरायसी उपकरण तथा खेलकुद सामग्रीहरूमा अनलाइन माग केही कमी आएको छ । साथै, उपहारको रूपमा प्रदान गरिने कफी र केक जस्ता इ–कुपन सेवा क्षेत्रमा मागमा उल्लेखनीय गिरावट देखिँदै ४७.१ प्रतिशतले घटेको छ ।
मोबाइल उपकरण मार्फत गरिने अनलाइन किनमेल २।९ प्रतिशतले वृद्धि भई १७.३६ ट्रिलियन वोन (अन्दाजी १२.८ अर्ब अमेरिकी डलर) पुगेको छ, जसले कुल अनलाइन कारोबारको ७७.२ प्रतिशत हिस्सा ओगटेको छ । रासस/सिन्ह्वा