• १८ असार २०८२, बुधबार

केही नेपाल ऐन संशोधन विधेयक पारित

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० पारित भएको छ । दर्ता भएको दुई वर्षपछि प्रतिनिधि सभाबाट गत वैशाख १६ गते पारित भएको विधेयक राष्ट्रिय सभाको मङ्गलबारको बैठकले संशोधनसहित पारित गरेको हो । 

सङ्घीय संसद् सचिवालयका अनुसार विधेयक दर्ता हुँदा संशोधनका लागि प्रस्तावित केही व्यवस्था अन्य ऐन तथा अध्यादेशमार्फत सम्बोधन भइसकेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० मा कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन–२०७० को केही दफामा संशोधन व्यवस्था गरेको थियो । सोही ऐनमा संशोधन गर्न ल्याइएको अध्यादेश दुवै सदनले करिब दुई महिनाअघि नै पारित गरिसकेका छन् । 

सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनालले केही नेपाल ऐनमार्फत उपदफाका क्रममा मात्रै संशोधन भएको जानकारी दिनुभयो । उहाँले  तात्त्विक  भिन्नता नभएको प्रस्ट्याउनुभयो । उपसचिव खनालले भन्नुभयो, “कसुरजन्य सम्पत्ति तथा साधन रोक्का ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश र प्रतिस्थापन विधेयक केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक छलफलकै क्रममा रहँदा पारित भयो ।”

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले ७९ वटा ऐन संशोधन गर्ने प्रस्ताव गरेको थियो । विधेयकमा प्रतिनिधि सभाले दुई र राष्ट्रिय सभाले एउटा ऐनको संशोधन झिकेर पारित गरेको छ । प्रतिनिधि सभाले प्रेस काउन्सिल ऐन–२०४८ र मुलुकी फौजदारी संहिता कार्यविधि–२०७४ मा राखिएको संशोधन हटाउँदा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले लोक सेवा आयोग ऐन–२०७९ को संशोधन हटाएको छ । 

उपसचिव खनालले विधेयकले अब ७६ वटा ऐनलाई संशोधन गरेको र दुई वटा ऐन खारेज गरेको बताउनुभयो । राष्ट्रिय सभाबाट पारित विधेयकबाट रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन–२०२० र गरिबी निवारण कोष ऐन–२०६३ खारेज भएको छ । 

गत वैशाख २१ गते प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयक जेठ ५ गतेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । विधायन समितिले असार ८ गते विधेयकसम्बन्धी प्रतिवेदन पारित गर्‍यो । 

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गतको मन्त्रालयगत छलफल सकिएको छ । गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ रहनुभएकाले पर्यटनमन्त्री पाण्डेले नै सो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभयो । बाँकी रहेका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको राष्ट्रिय सभाको बुधबारको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने छ ।