• १२ असोज २०८१, शनिबार

वडाध्यक्षद्वारा विद्यार्थीलाई न्यानो कपडा

blog

विद्यार्थीलाई स्वीटर लगाइदिनुहुँदै वडाध्यक्ष जितेन्द्रबहादुर शाह । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, मङ्सीर १७ गते । घोराही उपमहानगरपालिका ९ का अध्यक्षले तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफूले प्राप्त गरेको तलबबाट विद्यार्थीलाई जाडो मौसम सुरु भएपछि स्विटर वितरण गर्नुभएको हो । 

सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालयका ९२ जना विद्यार्थीलाई उहाँले स्विटर वितरण गर्नुभएको हो । वडाध्यक्ष हुनुपूर्व नै विभिन्न सामाजिक कार्यमा संलग्न रहनुभएका शाहले विद्यालयमा अनुगमनका क्रममा पुग्दा चार जना विद्यार्थीले मात्रै स्विटर लगाएको देखेपछि अन्य विद्यार्थीलाई स्विटर वितरण गर्नुभएको बताउनुभयो । 

वडाध्यक्ष शाहले भन्नुभयो– “विद्यालयमा पुग्दा चार जना विद्यार्थीले मात्रै स्विटर लगाएको देखेँ अन्यलाई सोध्दा बुवाआमा घरमा नभएको, आर्थिक अवस्था अत्यन्त कमजोर भएको जवाफ पाएपछि न्यानो कपडा वितरण गरेँ ।” अध्यक्ष शाहले वडाभित्र रहेका अन्य विद्यालयमा रहेका विपन्न समुदायका बालबालिकाका लागि न्यानो कपडा वितरण, शैक्षिक सामग्रीका लागि वडाबाट तीन लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।