लीलाधर वली
घोराही, असार २२ गते । दाङमा प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु बाघको छालासहित गढवा गाउँपालिका–६, खवरीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–६, खवरी निवासी ४१ वर्षीय विक्रम बुढामगरको घरबाट आज आइतवार बिहान करिब दुई बजेतिर छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१, गुरुङखोला निवासी ५३ वर्षीय केशवराज सेन ठकुरी, गढवा गाउँपालिका–६, खवरी निवासी ४१ वर्षीय विक्रम बुढामगर र बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–४, पदनाह निवासी ३३ वर्षीय अनिल थारू छन् ।
बाघको छाला बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएर राखेको अवस्थामा शिरदेखि पुच्छरसम्म नौ फिट दुई इञ्च लम्बाइ र तीन फिट दुई इञ्च चौडाइ भएको पाटे बाघको छाला बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरूलाई डिभिजन वन कार्यालय लमहीमा बुझाएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभएको छ ।
पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको भन्दै प्रहरी नायब उपरीक्षक शाहले भन्नुभयो, "अहिलेसम्म बाघको छाला बाहिरबाट ल्याएर बिक्री गर्न थालिएको हो वा दाङमै बाघ मारिएको हो भन्ने बारे खुल्न सकेको छैन ।"