कुलबहादुर शाही
जाजरकोट, असार २२ गते । एक अज्ञात समूहले डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै हातपात भएको छ। आइतवार दिउँसो साढे ३ बजे उहाँको कार्यालयमा काम गरिरहेको समयमा चार जनाको समूहले हातपात गरेको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी अजय रावलले वीरबहादुर शाहीसहित चार जनाले प्रमुख शाहमाथि हातपात गरेको जानकारी दिनुभयो । उहाँले शाहीको ठेगाना भने खुल्न नसकेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले घटनाको पुष्टि गर्दै हातपात कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
केही दिनअघि प्रमुख शाहसहित अन्य कर्मचारी कार्यालयमै बसेर मदिरा सेवन गरिरहेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शाहमाथि हातपात भएको हुनसक्ने अनुमान गरिएको छ।