शान्ता अधिकारी
शारदानगर (चितवन), असार २२ गते । चितवनमा आयोजना गरिएको एक कार्यक्रममा वर्तमान नेपालको परिवर्तनमा योगमायाको योगदानको चर्चा गरिएको छ ।
कार्यक्रममा पछिल्लो परिवर्तन योगमायाले सुरु गरेको आन्दोलनप्रतिको ऐक्यवद्धता र निरन्तरता भएको टिप्पणी गरिएको छ । योगमायाले आफ्ना अनुयायीसहित जलसमाधि गरी जीवन उत्सर्ग गरेको हरिशयनी एकादशीको अघिल्लो दिन शनिबार आयोजना गरिएको कार्यक्रममा त्यस्तो टिप्पणी गरिएको हो ।
भरतपुर १९ शारदानगर टाउनमा आयोजित आमसञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले योगमायाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजभन्दा ८०–८५ वर्ष पहिले जुन बेला महिलालाई नागरिकको रुपमा हेरिँदैनथ्यो । त्यस बखत देशमा निरंकुश जहानीया राणा शासन थियो ।’
महानगर प्रमुख दाहालले योगमायाले सुरु गरेको आन्दोलनकै परिणाम पछिल्लो समय गणतन्त्र आएको र राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिला पुगेको बताउनुभयो । अब महिला बाँकी प्रधानमन्त्री बन्न बाँकी रहेको बताउँदै आफुले दुई–दुई पटक महानगरपालिकाको नेतृत्व पाएको विषय पनि उहाँले उठाउनुभयो ।
कार्यक्रममा शरदानगर जागृति शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जसबहादुर गुरुङ, संविधानसभा सदस्य विष्णुमाया परियार, पत्रकार सिर्जना अर्यालले योगमायाको बारेमा चर्चा गर्नुभयो ।
८२ वर्षीया ज्येष्ठ नागरिक विष्णुमाया अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विष्णु ढकालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा योगमायाको विषयबस्तु समेटिएको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, अधिकारकर्मी लगायतको उपस्थिति थियो ।
बिक्रम सम्बत १९२४ मा भोजपुरको सिम्ले, नेपालेडाँडामा जन्मिएकी योगमायाले १९९८ अर्थात आजभन्दा ८४ वर्ष पहिले असार २२ गते हरिशयनी एकादशीका दिन अरुण नदीमा आफ्ना ६७ जना अनुयायीका साथ जलसमाधि गरी प्राण त्याग गर्नुभएको थियो । नेपाल सरकारले २०७३ मंसिर १ गते उहाँको तस्बिर रहेको हुलाक टिकटमा नेपाल सरकारले टाँचा लगाएको थियो ।