धर्बेन्द्र झा
जनकपुरधाम, असार २२ गते । नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सत्ता सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली काँग्रेसबिच भएको गठबन्धन २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल धनुषाले आइतबार जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता पक्षकै केही साँसद सरकार ढाल्ने कुरा गरी सरकारलाई असफल बनाउने प्रयास गरिरहेको टिप्पणी गर्नुभयो ।
दुवै पार्टीका नेतृत्वको सुझबुझका कारण गठबन्धन अझै मजवुत बन्दै गएको बताउनुभयो । एमाले र काँग्रेसबिचमा भएको गठबन्धन तोड्न नेकपा (मओवादी केन्द्र) सुरुदेखि प्रयास गरिरहे पनि सम्भब नरहेको बताउनुभयो । सचिब महासेठले विगतमा विभिन्न दलको गठबन्धन भएर सत्ता सञ्चालन भएको भन्दै विगतका गठबन्धन सरकारभन्दा अहिलेको सरकारले उत्साहजनक काम गरेको दावी गर्नुभयो ।
उहाँले बर्तमान सरकारले गरेको कामकाजका कारण देशको आर्थिक सामाजिक परिस्थितिमा सुधार भएको दावी गर्नुभयो । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपतिविच अन्तरविरोध भएको कुरा हल्ला मात्र भएको बताउनुभयो ।
“पूर्व राष्ट्रतिलाई न त संविधानले, न त पार्टीकोे विधानले बन्देज गरेको छ । त्यसैले उहाँ पार्टीमा पुनः फर्केपछि यसलाई अन्यथा लिनु हुँदैन । उहाँले आफु कुनै कित्तामा नभइ पार्टीको नीति सिद्धान्तअनुसार कामकाज गर्ने बताउनुभयो ।
राजर्षी जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण हुनुपर्नेमा आफू सुरुदेखि आवाज उठाउँदैआएको उहाँले बताउनुभयो । उहाँले धनुषाको नगराइन नगरपालिकाको मनियारीस्थित जग्गामा प्रशासनिक भवन निर्माण भएमा आफ्नो कुनै आपत्ति नरहेको प्रस्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा एमाले नेतृ एवम पूर्वमन्त्री जुलीकुमारी महतोले राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणको विषयमा राजनीति गर्ने नेताहरुको पत्रकारले पर्दाफास गर्नुपर्ने बताउनुभयो ।
जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध भइ कामकाज गरिरहँदा केही नेताहरुले विकास विरोधी गतिविधि गरेर जनतालाई भ्रममा पार्न खोजेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल धनुषा अध्यक्ष नविन मिश्र प्रियदर्शीको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्य हरिनारायण महतो, प्रदेशसभा सदस्य लखनदास सहितको सहभागिता थियो ।