• २२ असार २०८२, आइतबार

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

blog

दक्षिण एसियाली करातेमा उपविजेता बनेको नेपाली टोली ।

काठमाडौँ, असार २२ गते । नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । 

श्रीलङ्काको कोलम्बोमा सम्पन्न प्रतियोगितामा नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित टिम उपविजेता बनेको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो । 

नेपालका लागि महिला ६८ केजीमाथि हिमालयन वारियर्स उपनामबाट परिचित एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाउनुभयो । 

यस्तै प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा एक एक स्वर्ण तथा टिम कुमुतेमा रजत जित्नुभयो । यसअघि नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्‍यो ।

तीन स्वर्ण, सात रजत र १४ कांस्य जितेको बङ्गलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र सात कांस्यसाथ पाँचौँ र एक रजत र एक कांस्य जितेको भुटान छैटौँ भयो ।