• २२ असार २०८२, आइतबार

हिमालको भविष्य बचाउन हिमालयन क्लाइमेट चार्टर

blog

हिमालयन क्लाइमेट चार्टर २०२५ अभियान कार्यक्रमको अवसरमा आयोजित प्यानल छलफलमा सहभागी विज्ञहरू । तस्बिर: गोरखापत्र

काठमाडौँ, असार २२ गते । बढ्दो वातावरणीय सङ्कटलाई जोगाउन हिमालयन क्लाइमेट चार्टर २०२५ को आयोजना गरिएको छ । जलवायु परिवर्तनको बढ्दो प्रभावले मानव जातिमा गम्भीर असर परेको स्वीकार गर्दै ब्ल्याक याक कम्पनीले शनिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चार्टरको सुरुवात गरेको हो । 

हिमालयन क्लाइमेट चार्टर २०२५ अभियानले हिमालको भविष्यको रक्षा गर्न तत्काल विश्वव्यापी रूपमा सामूहिक कार्यको लागि आह्वान गरेको छ । नेपाल पर्वतारोहण सङ्घ, खुम्बु पासाङल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको थियो । पर्वतारोहणका लागि मुख्य र अन्य प्रकारका कपडा उत्पादन गर्दे आएको कोरियाली कम्पनी ब्ल्याक याकले शनिवार विज्ञ, सञ्चारकर्मी, पर्वतारोही र सरकारी प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउन ‘समिट फर अर्थ’ नाम दिएर कार्यक्रम आयोजना गरेको थियो । 

सरकारले स्वच्छ हिमाल रणनीति २०८२  निर्माणलाई अन्तिम रूप दिएको छ ।

जलवायु न्याय प्रवर्द्धनमा सैद्धान्तिक पक्ष र रणनीतिक कार्यहरूको खाका प्रस्तुत गर्ने गरी चारै वटा आयोजक संस्थाले घोषणापत्र (हिमालयन क्लाइमेट चार्टर २०२५)मा संयुक्त हस्ताक्षर गरेका थिए ।  घोषणाले विश्वव्यापी कार्बन घटाउने प्रयास र हिमाली समुदायलाई सहयोग पुर्‍याउने गरी जोड दिने जनाएको छ । 

बढ्दो जलवायु सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षणका लागि एकीकृत पहल गर्नुपर्नेमा जोड दिनुभयो । फोहर मैला व्यवस्थापन, वातावरण संरक्षण र जिम्मेवार पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेको सरकारको स्वच्छ हिमाल रणनीति २०८२  निर्माणलाई अन्तिम रूप दिएको  मन्त्री पाण्डेले जानकारी दिनुभयो । 


हिमाल सरसफाइ अभियान र हिमालमा हुने गतिविधिको तथ्याङ्क सङ्कलन गरी यसको न्यूनीकरणका लागि वातावरण तयार गरी विश्व समुदायलाई साझेदारी गरी एकताबद्ध रूपमा उभ्याउन यो कार्यक्रमको लक्ष रहेको आयोजक ब्ल्याक याक कम्पनीका अध्यक्ष काङ ताए सुनले जानकारी दिनुभयो । यो कम्पनीले हिमालको फोहोर सङ्कलनदेखि सगरमाथा क्षेत्रमा सफाइका लागि खटिने आइसफल डाक्टरहरूलाई पाँच वर्षसम्म नियमित रूपमा सामाग्री सहयोग गर्न गरी काम अघि बढाएको छ ।  

आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै ब्ल्याक याक कम्पनीका अध्यक्ष काङ ताए सुनले वातावरणीय असरबाट सृजित समस्याहरू मानव जीवनका लागि ठुलो सङ्कट भन्दै यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हिमालबाट आएको मौन चेतावनीलाई ख्याल गर्न सकेनौ भने यो अन्तिम सङ्कट हुनाले यो सबैको साझा चासोको विषय बन्नुपरेको छ । 

हिमाल सरसफाइ अभियान र हिमालमा हुने गतिविधिको तथ्याङ्क सङ्कलन गरी यसको न्यूनीकरणका लागि वातावरण तयार गरी विश्व समुदायलाई साझेदारी गरी एकताबद्ध रूपमा उभ्याउन आवश्यक छ ।

कार्यक्रममा बोल्नुहुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हिमाल सरसफाइ अभियानका लागि सरकारी कोष होइन पर्वतारोहणबाट लिइएको रोयल्टीको निश्चित प्रतिशत छुट्याएर वार्षिक रूपमा काम गर्नुपर्ने माग गर्नुभयो । 


कार्यक्रममा ‘हिमालमा जलवायु परिवर्तन’ विषयमा प्यानल छलफल गरिएको थियो । उक्त छलफलमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल, क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका एसोसिएसन प्रोफेसर डा. पासाङ यान्जी शेर्पा, त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पस प्रोफेसर डा. धिरज प्रधानाङ्ग, डव्लुडव्लु एफका नेपाल प्रतिनिधि घनश्याम गुरुङ र इसिमोडका प्रतिनिधिको सहभागिता थियो । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।