काठमाडौँ, चैत १५ गते । नेपाल भित्रिने विदेशी पर्यटक मध्ये टपटेन देशहरू मध्येमा पर्ने दक्षिण कोरियाली पर्यटक पनि हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक रूपमा २७ हजार छन् । यो सङ्ख्या पर्याप्त नभएको भन्दै यसलाई आगामी दिनमा ५० हजारमा पुर्याउने कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) ले जनाएको छ ।
पर्याप्त सम्भावनाहरू भए पनि प्रचारप्रसारलाई थप विस्तार गर्ने हो भने वार्षिक कोरियाली पर्यटकको सङ्ख्या ५० हजार पुग्ने नेपालका लागि कोरियाली राजदूत ताइँ योङ पार्कले बताउनुभयो । कोटानको आठौँ वार्षिकोत्सवकाे अवसरमा सम्बोधन गर्नुहुँदै राजदूत पार्कले भन्नुभयो कोरियामा प्रत्येक साता ५० लाखले पहाडमा पदयात्रा गर्ने भएकाले ती मध्ये दुई प्रतिशत मात्र नेपाल आउने हो भने पनि वार्षिक ५० हजार पुग्ने बताउनुभयो ।
नेपाल र कोरियाको वातावरण , नेपालको पर्यटकीय प्रचुर सम्भावनालाई नेपाल पर्यटन बोर्ड र सरकारी निकायहरूले थप पहल गर्नुपर्ने कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) का अध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । सुरक्षित पदयात्रा आजको मुख्य आवश्यकता भएकाले कोटानले कोरियाली पर्यटकको उद्धार र सुरक्षाका लागि दूतावाससँग सहकार्य गरी महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो ।
गत वर्ष नेपाल र कोरिया कूटनैतिक सम्बन्ध कायम भएको ५० वर्षको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको कोटानका कोषाध्यक्ष ङावा निमा शेर्पाले बताउनुभयो । कोरियाली पर्यटकको सम्भावना बढी भएकाले हवाई मार्ग विस्तारदेखि भाडा दर सन्तुलनसमेतलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने शेर्पाले माग गर्नुभयो ।
कोटानले बिहीबार काठमाडौँमा पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाको सहभागितामा आठौँ स्थापना दिवस मनाएको छ ।