रमेश विश्वकर्मा
गुल्मी, चैत २६ गते । गुल्मीमा तोकिएकै समयमा सबै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नुभएका ४३ जनाले तोकिएकै समयमा निर्वाचन खर्च विवरण बुझाएका हुन्।
खर्च विवरण पेस गर्नुभएका उम्मेदवारले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गर्नुभएको छ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसका अनुसार यहाँका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार बन्नुभएका व्यक्तिले एक करोड ६५ लाख २४ हजार ५१४ रुपियाँ बराबरको खर्च विवरण निर्वाचन आयोगले तोकेको समयावधिभित्र नै पेस गर्नुभएको छ।
यस जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राजनीतिक दलका २० र स्वतन्त्र २३ जना उम्मेदवार बनेका थिए।निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेको हुँदा सोही अनुसार यस जिल्लाका सबै उम्मेदवारले तोकिएकै समयमा खर्च विवरण बुझाएका हुन्।
जिल्ला निर्वाचन कार्यालय गुल्मीमा बुझाएको विवरण अनुसार क्षेत्र नम्बर-१ मा बन्नुभएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले ८८ लाख ३८ हजार ९१२ रुपियाँ बराबरको खर्च विवरण पेस गर्नुभयो। यस क्षेत्रमा २१ जना उम्मेदवार बन्नुभएको थियो।
जसमा राजनीतिक दलबाट १० जना र स्वतन्त्र ११ जना उम्मेदवार बन्नुभएको थियो। यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको थियो।
त्यसैगरी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले ७६ लाख ८५ हजार ६०२ रुपियाँ बराबरको खर्च विवरण पेस गर्नुभयो।
यस क्षेत्रमा राजनीतिक दलबाट १० जना र स्वतन्त्र १२ जना उम्मेदवार बन्नुभएको थियो। यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी विजयी हुनुभएको थियो।