• १९ वैशाख २०८३, शनिबार

उभौलीको अवसरमा पालिका स्तरीय साकेला नृत्य प्रतियोगिता

blog

पालिका स्तरीय साकेला प्रतियोगितामा नृत्य गर्दै प्रतियोगीहरु । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख १९ गते । उभौली पर्वको अवसर पारेर पाँचथरको फिदिम नगरपालिकामा आयोजना गरिएको पालिका स्तरीय आमन्त्रित साकेला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

किँरात राइ यायोख्खा जिल्ला कार्य समिति पाँचथर को आयोजनामा तथा फिदिम नगरपालिका को प्रवर्धनमा जिल्ला समन्वय समिति पाँचथरको खुला मञ्चमा शनिबार प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा चार टोलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा फिदिम नगरपालिका वडा २ र ३ को संयुक्त टोली उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो । उक्त टोलीले नगद ३५ हजार रुपियाँसहित उपाधि जितेको हो ।

यस्तै आयोजक किरात राइ यायोख्खा को टोली द्वितीय हुँदै नगद ३० हजार रुपियाँ प्राप्त गर्न सफल भयो भने मिक्लाजुङ गाउँपालिका–२ को टोली तृतीय स्थानमा रहँदै २५ हजार रुपियाँ प्राप्त गरेको छ । फालेलुङ गाउँपालिका–५ को टोलीले सान्त्वना स्थान हासिल गर्दै नगद २० हजार रुपियाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा मगर संघ, तामाङ घेदुङ, नेवा देबु तथा किरात याक्थुङ चुम्लुङलगायत विभिन्न जातीय संघ–संस्थाको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगिताले साकेला नृत्यमार्फत किरात समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने आयोजक संस्थाका अध्यक्ष गणेश साम्पाङ जानकारी दिनु भयो ।

कार्यक्रम गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । 

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सचिव  विकेन्द्र वाइवा विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको उपस्थिति रहेको किरात राइ यायोख्खा जिल्ला कार्य समिति पाँचथर सचिव शान्ति राईले जानकारी दिनुभयो ।