• १९ वैशाख २०८३, शनिबार

डिलाशैनी गाउँपालिकाको लोडरमा नक्कली नम्बर प्लेट, प्रयोगमा रोक

blog

केशवराज भट्ट

वासुलिङ (बैतडी), वैशाख १९ गते । बैतडीको डिलाशैनी गाउँपालिकाले प्रयोग गर्दै आएको लोडरमा राखिएको नम्बर प्लेट दर्ता नभएको खुलेपछि उक्त मेसिनको प्रयोग तत्कालका लागि रोकिएको छ । आर्थिक वर्ष २०७९/८० मा करिब ५४ लाख रुपैयाँमा खरिद गरिएको लोडरमा राखिएको सेतो नम्बर प्लेट आधिकारिक अभिलेखमा नभेटिएपछि अनियमितता बाहिरिएको हो ।

गाउँपालिकाले बा.प्र.०१–००४ क १२१६ नम्बर प्रयोग गर्दै आएको भए पनि उक्त नम्बर यातायात कार्यालयमा दर्ता नभएको पुष्टि भएको छ । प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदका अनुसार नवीकरणका लागि यातायात कार्यालय डडेल्धुरा पुगेपछि मात्रै यो तथ्य पत्ता लागेको हो । दर्ता नभएको खुलेपछि मेसिन सञ्चालनमा रोक लगाइएको र यसबारे थप बुझ्न काठमाडौँसम्म जाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

दर्ता प्रक्रियामै नरहेको सवारी तीन वर्षसम्म सञ्चालनमा रहँदा गाउँपालिकाले इन्धन तथा मर्मत शीर्षकमा ठूलो रकम खर्च गरिसकेको छ । यस घटनाले स्थानीय तहभित्रको कार्यप्रणालीमाथि प्रश्न उठाएको छ भने नक्कली नम्बर प्लेट प्रयोग गरिएको विषयमा व्यापक आलोचना समेत भइरहेको छ ।

यातायातसम्बन्धी कानुनअनुसार दर्ता नभएको वा गलत नम्बर प्लेट राखेर सवारी सञ्चालन गर्नु गैरकानुनी मानिन्छ । सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ अनुसार यस्तो कार्यमा संलग्नलाई जरिवाना वा सवारी जफतसम्मको व्यवस्था छ ।

गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले यस विषयमा आफूले हालै मात्र जानकारी पाएको बताउँदै खरिद प्रक्रियामा संलग्न तत्कालीन कर्मचारी तथा सम्बन्धित शाखाबाट जानकारी लिने काम भइरहेको जनाउनुभयो ।