• १९ वैशाख २०८३, शनिबार

गुल्मी महोत्सवमा गुल्मीदरबारको ‘अर्गानिक मह’को आकर्षण

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १९ गते । गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरूले विशेष प्राथमिकता पाएका छन्। महोत्सवमा राखिएका विभिन्न स्टलमध्ये स्टल नं. ८ मा प्रदर्शन तथा बिक्रीका लागि राखिएको ‘गुल्मीदरबार नेचुरल हनि’ यतिबेला दर्शकको आकर्षणको केन्द्र बनेको छ।

गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका मौरीपालक कृषकले उत्पादन गरेको अर्गानिक महलाई ब्रान्डिङ गरी महोत्सवमा ल्याइएको हो। शुद्ध र प्राकृतिक रूपमा उत्पादन गरिएको यस महप्रति उपभोक्ताको बढ्दो चासोका कारण स्टलमा दैनिक भीड लाग्ने गरेको छ।

गुल्मीदरबार प्राकृतिक महको बजारीकरणमा गुल्मीदरबार गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसहित नवप्रभात युवा संघ गुल्मीद्वारा सञ्चालित ‘गुल्मीदरबार कृषि परियोजना’ले यसमा सामाजिक परिचालन गरिरहेको छ।

गाउँपालिकाले वडा नम्बर १, बलिथुमलाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरी मौरीपालन प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिका अध्यक्ष सरोजकुमार थापाका अनुसार कृषकलाई मौरीसहितका घार, खाली घार, तालिम तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराइएको छ। हाल सो वडाका करिब ६० घरपरिवार मौरीपालनमा संलग्न छन् भने ७–८ परिवारले यसलाई व्यावसायिक मुख्य पेसा बनाएका छन्।

परियोजना संयोजक हरिकृष्ण विकका अनुसार प्राकृतिक महलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न ब्रान्डिङ र प्याकेजिङमा विशेष ध्यान दिइएको छ। आगामी दिनमा महको प्रशोधन, गुणस्तर परीक्षण र व्यवस्थित प्याकेजिङका लागि पूर्वाधार विकास गर्ने लक्ष्य गाउँपालिकाको छ।

महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकको उत्साह बढाउनुका साथै जिल्लाको आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याएको छ। ‘गुल्मीदरबार नेचुरल हनि’ जस्ता उत्पादनले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।