• २५ चैत २०८२, बुधबार

अवैध धन फिर्ता ल्याउन स्विट्जरल्याण्डसँग सहयोगको प्रस्ताव

गृहमन्त्री गुरुङ र स्विस राजदूतबिच भेटवार्ताः भ्रष्टाचार नियन्त्रणमा सहकार्यको प्रस्ताव

blog

गृहमन्त्री सुधन गुरुङसँग भेट गर्नुहुँदै स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउली। तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, चैत २५ गते । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत मेउलीले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा गृहमन्त्री गुरुङले नेपाली उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार लगायतका कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्विस बैँकमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबिच सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले यदि त्यस्तो रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन राजदूतसँग अनुरोध गर्नुभयो ।

जवाफमा राजदूत मेउलीले दुई सरकारबिच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाउनुभएको थियो । गृहमन्त्री गुरुङले उक्त विषय हाल छलफलकै क्रममा रहेको जानकारी दिनुभयो ।

यसै गरी, राजदूत मेउलीले विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्री गुरुङको लामो अनुभव र योगदानको सम्मान गर्दै नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन स्विस सरकारले आवश्यक सहकार्य गर्ने बताउनुभयो ।

भेटको अन्त्यमा गृहमन्त्री र राजदूत दुवैले नेपाल र स्विट्जरल्यान्डबिचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउँदै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्नुभएको थियो ।