• २० वैशाख २०८३, आइतबार

सिजनमै घट्यो लुक्ला उडान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २० गते । पश्चिम एसियामा जारी भूराजनीतिक तनावका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा हुने उडान अवतरण घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अमनचन्द्र झाका अनुसार सगरमाथा पर्यटकीय क्षेत्रमा पर्ने लुक्ला विमानस्थलमा उडान सङ्ख्या आधाले घटेको छ । “अघिल्ला वर्षमा दैनिक चार सय हाराहारीमा उडान हुनेमा अहिले करिब आधा उडान घटेका छन्,” उहाँले भन्नुभयो, “यो सिजनमा अघिल्ला वर्षमा एक हजार पाँच सय हाराहारी यात्रुले लुक्लामा ओहोरदोहोर गर्दै आएकामा यो वर्ष यात्रु सङ्ख्यासमेत घटेको छ ।” यस वर्ष लुक्ला ओर्लिनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको झाले जानकारी दिनुभयो । यस वर्ष युरोप, अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या भने घटेको उहाँले जानकारी दिनुभयो । 

पर्यटकीय सिजनको मध्य भएकाले लुक्ला पुग्नेभन्दा फर्कने पर्यटक बढ्न थालेको जनाउँदै उहाँले लुक्लाबाट सगरमाथा आधार शिविर र काठमाडौँ फर्किने उडान बढी हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार लुक्लामा काठमाडौँबाट दैनिक तारा एयर, सीता एयर र समिट एयरलाइन्सले उडान भर्ने गरेका छन् । सोलुखुम्बुका चार वटा विमानस्थलमध्ये फाप्लु विमानस्थलमा सीमित उडान सञ्चालनमा रहेको र स्याङ्बोचे विमानस्थलमा कार्गो उडान हुँदै आए पनि कागेलडाँडा विमानस्थल बन्द रहेको छ ।