गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २० गते । अटिजम र ड्राउन सिन्ड्रोमलगायतका अपाङ्गता भएका महिला तथा बालबालिकालाई मिखाः (आँखा) ले विभिन्न कलात्मक सिपमार्फत सशक्तीकरण र आत्मनिर्भर बनाउने प्रशिक्षण प्रदान गरिरहेको छ । कलाकार सरिता डङ्गोलले स्थापना गर्नुभएको क्लासिक ग्यालरी अन्तर्गत सञ्चालन गरिएको मिखाः सिवि संस्थामार्फत विविध प्रकारका अपाङ्गता भएका महिलालाई चित्रकला, नृत्य, कडाइ (इम्ब्रोडरी), बुनाइ (क्रोसेट) कम्प्युटर बास्केटबल र स्पिच थेरापीलगायतका प्रशिक्षण दिएर आत्मबल बढाउने काम गरिरहेको बताउनुभयो । उहाँले डाउन सिन्ड्रोम अपाङ्गता भएकी रिता दुवाल र अन्य सहभागीले निकै चाख र एकाग्रताका साथ इम्ब्रोडरी सिकिरहेको बताउनुभयो ।
सो ग्यालरीमा हाल सन्ध्या सिंह, गुञ्जना श्रेष्ठ, लिजला श्रेष्ठ, समा वज्राचार्य, आभा श्रेष्ठ, वर्षा दाहाल, रिता दुवाल, निर्वाणा शाक्य र समृद्धि शाक्यलगायतले विभिन्न कलात्मक क्रियाकलापबाट आत्मबल बढाउने र सिप सिकेर आर्थिक रूपमा समेत आत्मनिर्भर बन्ने प्रयास गरिरहनुभएको छ । रिता दुवाल राम्रो नृत्याङ्गनासमेत हुनुहुन्छ । उहाँहरूलाई ममता राई, सोनु कपाली, सोफिया महर्जन, सुदीक्षा डङ्गोल, कल्पना लिम्बूलगायतका स्वयंसेवकले प्रशिक्षण दिँदै आउनुभएको छ ।
हालै मात्र उहाँहरूले बनाउनुभएको चित्रकलाको ‘सपनाका पाइला’ शीर्षकमा सामूहिक चित्रकलाको आयोजना गरिएको थियो । क्लासिक ग्यालरीका संस्थापक कलाकार सरिता डङ्गोलले भन्नुभयो, “हामी सिपमा आधारित तालिम कार्यशाला सञ्चालन गर्छौं, जहाँ सहभागीले नयाँ कला सिर्जना गर्न सक्छन् । नेपालमा बौद्धिक अपाङ्गता भएका महिलाका लागि कला सिकाउने विशेष केन्द्र नभएकाले हाम्रो मुख्य लक्ष्य ‘सिकौँ, गरौँ, कमाऔँ’ भन्ने रहेको छ । यसले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्छ र समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टि/मानसिकतामा परिवर्तन गर्न जागरण ल्याउँछ ।”