जोमसोम, वैशाख २० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा जारी ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला’ सँगै शनिबारदेखि चित्रकला कार्यशाला थप गरिएको छ । विगत दुई हप्तादेखि जोमसोम क्षेत्रमा बडेमान ढुङ्गामा विभिन्न देवीदेवताका मूर्ति बनाउने कार्य भइरहेको छ । कलाकारले ढुङ्गालाई खोपेर विभिन्न मूर्तिका आकार दिइरहेका छन् । शनिबारदेखि चित्रकारले पनि जोमसोम र आसपासका सुन्दर दृश्यलाई कलाकारले क्यानभासमा उतार्न थालेका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले यी कार्यशालाले पर्यटकीय क्षेत्र मुस्ताङका लागि कला पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभयो । कलाकार हप्ता दिनदेखि सो क्षेत्रमा आएर ढुङ्गालाई मूर्तिमा ढाल्ने काम गरिरहेका छन् । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक विषय समेटिने जानकारी दिनुभयो ।
उहाँका अनुसार कलाकारले घरपझोङमा विभिन्न आकारका ढुङ्गालाई मूर्तिको रूप दिइने छ । सांस्कृतिक पर्यटन प्रवर्धनमा यस कार्यशालाले महìवपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चित्रकला मूर्तिकलाले पर्यटक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चित्रमार्फत पनि विषयवस्तु उठान गरेर यहाँको विकासमा योगदान दिन सकिन्छ भन्नुभयो । उहाँ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शनिबार चित्रकला कार्यशालाको उद्घाटन गर्नुभएको थियो ।
सो कार्यशालामा काठमाडौँबाट आएका र स्थानीय कलाकारले सहभागिता जनाएका छन् । सो क्रममा आजै प्रतिष्ठान र पालिकाले शनिबार कलाकारलाई क्यानभाससमेत वितरण गरेको थियो ।