• २० वैशाख २०८३, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यात्रु ठगिएको गुनासोपछि अध्ययन सुरु

blog

काठमाडौँ, वैशाख २० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा रहेका पार्किङमा यात्रु ठगिएको गुनासो बढेपछि समिति गठन गरी अध्ययन सुरु भएको छ । ठेकेदार कम्पनीले मनलाग्दी पार्किङ शुल्क उठाएपछि नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति बनाएको हो । निश्चित मापदण्ड तथा ऐन नहुँदा कम्पनीले मनलाग्दी शुल्क उठाएर सेवाग्राहीलाई हैरानी बनाएको गुनासो आएपछि अध्ययन समिति बनाइएको प्राधिकरणले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले भन्नुभयो, “पार्किङ स्थलबारे आएका गुनासा सम्बोधन र थप व्यवस्थित गर्न प्राधिकरणले समिति बनाएर अध्ययन थालेको छ । प्रतिवेदन आएपछि सुधार गर्ने कार्य हुन्छ ।”   

विमानस्थल जहाँ पार्किङमै यात्रु ठगिन्छन् 

सवारी पार्क गर्दिन भन्दा पनि सुखै नपाउने गरी घुमिफिरि पार्किङमै पु¥याउने भौतिक संरचना बनाइएको छ । आन्तरिक उडानतर्फको भवनअगाडिको पार्किङमा प्रवेश र बाहिरिने दुई वटा गेट (ढाट) राखेर कडाइका साथ मनलाग्दी शुल्क उठाइएको छ । पार्किङमा प्रवेश ग¥यो कि न्यूनतम ४० रुपियाँ चैट । 

प्रवेश गर्नेबित्तिकै एक घण्टाको पार्किङ शुल्क उठाइन्छ । एक घण्टा १० मिनेट भयो भने दुई घण्टाको असुलिन्छ । आउने/जाने सवारीको कडा निगरानीमा शुल्क उठाएको देख्दा लाग्छ यहाँ कुनै घटना वा अनुसन्धान भइरहेको छ । कुनै निषेधित क्षेत्रमा प्रवेश गरेको जस्तो गरी उनीहरूको निगरानी र समयको गणना गरिन्छ । सवारी नम्बर हेरेर बिल प्रिन्ट थमाइन्छ । बाहिरिने गेटमा उक्त बिल देखाएर कति समय भयो सोही अनुसारको शुल्क नतिरी गेट खुल्दैन । 

मनलाग्दी शुल्क उठाउन थालिएपछि विमानस्थलमा जाने सेवाग्राही ठगिएका छन् । उनीहरूको गुनासो सुनिदिने निकाय पनि छैन त्यहाँ । बुवालाई भैरहवा पठाउन मोटरसाइकलमा आएका रुपन्देही सैनामैना नगरपालिका–४ का विकास थापामगरले भन्नुभयो, “मैले १५ मिनेट जति पार्किङ गरेँ ४० रुपियाँ लियो । यो त अति भयो, एयरपोर्टभित्रको पार्किङ त होइन नि यो त बाहिर छ । सार्वजनिक जग्गा हो । यस्तो लुट त गर्नु भएन ।” 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र बाह्य उडानतर्फको पार्किङको पैसा असुल्ने जिम्मेवारी तीन वर्षका लागि सोनिका सर्भिसले पाएको छ । पार्किङबापत एक घण्टाको ४० रुपियाँ र एक घण्टा कटेपछि दुई घण्टासम्मको ८० रुपियाँ लिन्छ । घण्टा थपिँदै जाँदा ४० रुपियाँका दरले पैसा पनि थपिन्छ । मगर भन्नुहुन्छ, “एक घण्टा १० मिनेट भयो भने दुई घण्टाको पैसा ८० रुपियाँ लिन्छ । १० मिनेट राखे पनि एक घण्टाको पैसा लिन्छ । यो अत्यधिक महँगो मात्र होइन, सरासर लुट हो । यसमा वैज्ञानिक आधार पनि छैन दादागिरी छ ।”

कम्पनीले छ मिनेटसम्मको पार्किङ निःशुल्क भनेको छ तर छ मिनेटमै जोकोहीले काम सकेर फर्किने सम्भावना नहुने सेवाग्राही बताउँछन् । पार्किङमा भेटिएका पोखराका राजन पौडेलले भन्नुभयो, “पार्किङ शुल्क पनि जरिबाना उठाए झैँ जबरजस्ती उठाउने हो र ? १० मिनेट मोटरसाइकल राख्दा ४० रुपियाँ तिर्नुपर्ने यस्तो पनि हुन्छ । राख्न पाको छैन बिल चढिहाल्ने । यो त अति भयो ।”

मोटरसाइकल, स्कुटरलाई घण्टाको ४० रुपियाँ लिइएको छ भने कार, जिपलाई ८० रुपियाँ लिइएको छ । प्रवेश ग¥यो कि पैसा उठाएको गुनासो सेवाग्राहीको छ । २४ घण्टामा झन्डै १० हजार सवारीले पार्किङ गरेका हुन्छन् । प्राधिकरणका अनुसार विमानस्थलमा पार्किङ शुल्क तोक्नेसम्बन्धी स्पष्ट कानुन छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र विमानस्थल सेवा शुल्क नियमावली, २०७८ का आधारमा व्यवस्थापन गर्ने गरिएको छ । 

नियमावलीले ल्यान्डिङ सेवा शुल्क, ग्राउन्ड ह्यान्डलिङ शुल्क, विमान पार्किङ सेवा शुल्क, कार्गो ढुवानी शुल्क, यात्रु सेवा सुविधा शुल्कलगायतका सेवा शुल्कको निर्धारण गरेको भए पनि सवारी पार्किङ शुल्क भने तोकिएको छैन तर नियमावलीको नियम ७ अनुसार विमानस्थल कार्यालयका प्रमुखले सवारी पार्किङ शुल्क निर्धारण गर्न सक्ने व्यवस्था भएको प्राधिकरणको दाबी छ ।

Author
लक्ष्मण दर्नाल

उहाँ गोरखापत्र दैनिकका उपत्यका समाचारदाता हुनुहुन्छ ।